काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्रमा रहेको धर्मशालाको व्यवस्थापन गर्ने भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री बद्री पाण्डेको अध्यक्षतामा पशुपति विकास कोष सञ्चालक परिषदको आइतबार बसेको बैठकले आवश्यकता अनुसार अन्य सम्बन्धित निकायसँग समन्वय गरी व्यवस्थापन गर्न निर्देशन दिने निर्णय गरेको हो ।
परिषद सदस्य काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाह समेतको उपस्थिति रहेको सो बैठकमा धर्मशालाको व्यवस्थापन गर्ने अधिकार कोषलाई नै निहीत भएको भन्दै आवश्यकता अनुसार अन्य निकायसँग पनि समन्वय गर्न सक्ने गरी बाटो खुला गरिदिएको छ ।
लामो समयदेखि मारबाडी सेवा समिति नेपालले सस्तोमा भाडामा लिएर एकलौटी रूपमा मनोमानी सञ्चालन गर्दै आएको आरोप लागेको उक्त धर्मशाला अब कोषले व्यवस्थापन गर्ने निर्णय भएको हो ।
मारबाडी सेवा समितिले यस अघिको करार बदर गरी पाउँ भनि काठमाडौँ जिल्ला अदालतमा पशुपति विकास कोष विरुद्ध दायर मुद्दामा यही असोज १६ गतेको फैसलामा समितिको दाबी नपुग्ने ठहर गरे पछि परिषद्ले सो निर्णय गरेको हो ।