logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:24 AM

  • पर्यटन प्रवर्द्धनको काम अलपत्र पारेको भन्दै बोर्डका सिइओ रेग्मीको विरोध

    पर्यटन प्रवर्द्धनको काम अलपत्र पारेको भन्दै बोर्डका सिइओ रेग्मीको विरोध

    बोर्डको मुख्य उद्देश्य पर्यटन प्रवर्द्धनको काम अलपत्र पारी सिइओ रेग्मीले भूगोलविद् तथा वैज्ञानिकहरूको सम्मेलन आयोजना गरेको भन्दै बोर्डका कर्मचारीहरूले गम्भीर आपत्ति जनाएका हुन् ।


    पर्यटन नेपाल

    सोमबार, २९ असोज २०८०


    काठमाडौँ । नेपाल पर्यटन बोर्डका सिइओ धनञ्जय रेग्मीप्रति बोर्डका कर्मचारीहरूले आपत्ति जनाएका छन् ।

    बोर्डको मुख्य उद्देश्य पर्यटन प्रवर्द्धनको काम अलपत्र पारी सिइओ रेग्मीले भूगोलविद् तथा वैज्ञानिकहरूको सम्मेलन आयोजना गरेको भन्दै बोर्डका कर्मचारीहरूले गम्भीर आपत्ति जनाएका हुन् ।

    सोमबार नेपाल पर्यटन बोर्ड कर्मचारी सङ्गठनले विज्ञप्ति जारी गर्दै सीईओको व्यक्तिगत स्वार्थको सम्मेलन आयोजना गर्न बोर्डको बजेटसमेत दुरुपयोग गर्ने कामको भर्त्सना गरेको छ ।

    बोर्डका सिइओ रेग्मीले ६० लाख सरकारी बजेट रकम पनि खर्च गर्ने गरी पोखरामा गत १९–२१ असोजमा आफ्नो निजी कम्पनीको भूगोलसम्बन्धी सम्मेलन आयोजना गरेका थिए । पर्यटन बोर्डलाई ‘होस्ट’ बनाएर उनले बोर्डको स्रोत तथा साधनको दुरुपयोगसमेत गरी भूगोलसम्बन्धी सेकेन्ड इन्टरनेसनल सस्टेनेबल माउन्टेन डेभलपमेन्ट कन्फरेन्स आयोजना गरेका हुन् ।

    ‘पर्यटन क्षेत्रको प्रवर्द्धन र नेपालको पर्यटनको बजारीकरणको विशेष महत्त्व बोकेका कार्यक्रममा नेपालको सहभागिता सुनिश्चित गर्नुको साटो पर्यटन व्यवसायीको सहभागिता नै हुन नसक्ने, नेपाल भ्रमणको प्याकेज सोकेसिङको अवसर नै नदिएको भुगोलविद् तथा वैज्ञानिक सम्मेलन आयोजनामा जोड दिने बोर्ड व्यवस्थापन नेतृत्वको कार्य भर्त्सना लायक छ,’ विज्ञप्तिमा भनिएको छ ।

    नेपाल पर्यटन बोर्ड कार्यकारी समितिले पर्यटन प्रवर्द्धनको कार्यक्रम सञ्चालनलाई आवश्यक कार्यविधि र निर्णय गर्न भनेको भए पनि बोर्डको व्यवस्थापनबाट भूगोलविद्को सम्मेलन आयोजना गर्ने कार्यविधि मात्रै पटक पटक स्वीकृतिका लागि पेस भएको कर्मचारी सङ्गठनले बताएको छ । बोर्डको स्रोतसमेत दुरुपयोग गरेर उद्देश्यबाट विमुख गरी आफ्नो स्वार्थपूर्ति गर्ने काममा लाग्ने, लाग्न अभिप्रेरित गर्नेहरूका विरुद्ध उभिने प्रतिबद्धता समेत कर्मचारी सङ्गठनले गरेको छ ।

    यस वर्ष बोर्डको असक्षमताका कारण वर्ल्ड ट्राभल मार्टमा नेपालको सहभागिता हुन नसकेको भन्दै विगत ४० वर्षदेखिको उपस्थिति यस वर्ष टुट्नु दुःखद रहेको समेत कर्मचारीले बताएका छन् ।

    विगतमा कम कर्मचारी हुँदा र अप्ठ्यारो परिस्थितिमा समेत यस्ता अवसर नमुगेको भन्दै कर्मचारीले बोर्डको यस्तो कदमबारे उच्च सरकारी नेतृत्वले समेत सुनुवाइ गर्न नसकेको भन्दै दुःख व्यक्त गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend