logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   06:58 AM

  • लुक्लादेखि सगरमाथा आधार शिविरसम्म बढ्यो पर्यटकको चहलपहल

    लुक्लादेखि सगरमाथा आधार शिविरसम्म बढ्यो पर्यटकको चहलपहल


    पर्यटन नेपाल

    मंगलबार, २० कार्तिक २०८१


    काठमाडौँ । सर्वोच्च शिखर सगरमाथामा अघिल्लो असोज महिनामा करिब ९ हजार पर्यटकले भ्रमण गरे ।

    उक्त महिना ८ हजार ९०२ जना पर्यटक खुम्बु क्षेत्रमा गएको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चे सोलुखुम्बुले जनाएको छ ।

    खुम्बु क्षेत्रमा भित्रिएका पर्यटकबाट दुई करोड तीन लाख ४८ हजार ५५३ राजश्व संकलन भएको छ । लुक्लादेखि सगरमाथाको आधार शिविरसम्म पर्यटकीय चहलपहल बढ्दो छ ।

    म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा अहिलेसम्मकै धेरै पर्यटक भित्रिएका तथ्याङ्क छ । हाल आन्तरिक र विदेशी पर्यटकले अन्नपूर्ण आधार शिविर भरिभराउ छ ।

    त्यहाँ पुग्ने पदमार्गको पहिचान भएको १३ वर्षको अवधिमा यसपटक धेरै पर्यटक आएको पदमार्गका अभियन्ता तेज गुरुङले बताए ।

    उनकाअनुसार दसैँपछि मात्रै यहाँ करिब तीन हजार पर्यटकले आधार शिविरको भ्रमण गरेका छन् ।

    अहिले मुख्य पर्यटकीय याम चलिरहेकाले पनि देशभरका गन्तव्यहरूमा पर्यटकीय चहलपहल बाक्लिएको हो। पदयात्रा र पर्वतारोहणका लागि शरद ऋतु उपयुक्त मानिन्छ ।

    वसन्त ऋतुमा सगरमाथासहितका हिमाल आरोहण र पदयात्रामा सबैभन्दा धेरै विदेशी पर्यटक आउने गरेका छन् । साहसिक पर्यटनका लागि अति उपयुक्त मानिने यस याममा हिमाल र पहाडी डाँडापाखाको दृश्यावलोकनको मज्जा लिन पदयात्री औधी रुचाउँछन् ।

    मुख्य पर्यटकीय सिजन तथा दसैँ र तिहारको बिदाको समयलाई सदुपयोग गर्दै आन्तरिक पर्यटक उल्लेख्य रूपमा गन्तव्य पुग्ने गरेका छन् भने पदयात्रा र पर्वतारोहणका लागि विदेशी पर्यटकले विश्वप्रसिद्ध अन्नपूर्ण क्षेत्र, खुम्बु, मनास्लु, लाङ्टाङलगायत गन्तव्यमा पुगेका छन् । अन्य पर्यटकीय गन्तव्यहरूमा पाहुनाको घुइँचो छ ।

    नेपाली पर्यटनको महत्वपूर्ण हिस्सा ओगट्ने संसारकै आकर्षण पर्वतारोहणका लागि पनि यो याम उपयुक्त मानिन्छ । यतिखेर धेरै आरोहीहरू पर्वतारोहणका लागि नेपाल आएका छन् ।

    मनास्लु, अमादब्लम, अन्नपूर्णलगायतका उच्च हिमशृङ्खला आरोहण उनीहरुको रोजाइमा पर्छ । अनुपम प्राकृतिक विविधताले भरिपूर्ण नेपालको सौन्दर्यता अवलोकनका लागि विश्वभरका पर्यटक यतिखेर नेपालका विभिन्न पर्यटकीय गन्तव्यको मज्जा लिइरहेका छन् ।

    भू–धरातलीय स्वरुप, हरिया डाँडाकाँडा, मनमोहक झरना तथा उत्तरतर्फ चाँदीका घेरा झैँ टल्किएका हिमालले पदयात्री पर्यटकको आकर्षण बढाएको छ । विदेशी पर्यटकको उत्साहबद्र्धक आगमनले व्यवसायी पनि उत्साहित भएका छन् ।

    होटल सङ्घ नेपालका महासचिव साजन शाक्यका अनुसार अहिले ७० देखि ८० प्रतिशत होटलको ‘अकुपेन्सी’ रहेको छ ।

    ‘होटेल क्षेत्रमा बुकिङ राम्रो छ । अक्टोबर र नोभेम्बर अन्तिमसम्म राम्रो छ। धेरै पदयात्री र पर्वतारोही आएका छन् । ठमेललगायत मुख्य गन्तव्यमा ८० प्रतिशत अकुपेन्सी छ, देशभरका होटलमा ७० प्रतिशतसम्म अकुपेन्सी रहेको जानकारी प्राप्त भएको छ,’ उनले भने ।

    उनकाअनुसार खुम्बु, अन्नपूर्णलगायत गन्तव्यका होटलहरूमा पर्यटक खचाखच छन् । पोखरा, चितवन, लुम्बिनीमा पर्यटकको चहलपहल बढेको छ। काठमाडौँ उपत्यका आसपासका नगरकोट, धुलिखेललगायत गन्तव्यका होटलहरू भरिभराउ छन् ।

    नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०२४ को नौ महिनामा अर्थात् वर्षको जनवरीदेखि सेप्टेम्बरसम्म आठ लाख १६ हजार ३३९ पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

    मग्रमा अघिल्लो वर्ष सन् २०२३ को तुलनामा छ प्रतिशत र सन् २०१९ भन्दा चार प्रतिशतले पर्यटक आगमन बढेको छ ।

    नेपाल एसोसिएसन अफ टुर्स एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) अध्यक्ष कुमारमणि थपलियाले पर्यटन क्षेत्र चलायमान बनिरहेको बताए ।

    उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता विस्तार तथा मर्मतको कामले उडान कटौती हुँनेहुँदा पर्यटन क्षेत्रलाई असर पर्नसक्ने सम्भावना औँल्याए ।

    ‘पर्यटकीय याम चलिरहेको समयमा विमानस्थलको मर्मतको कामले हवाई उडान खुम्चिन्छ र ट्राभल कम्पनीहरूको अकुपेन्सी घट्नजान्छ । त्यसैले हामीले विमानस्थल मर्मतको काम केही पर सार्न वा उडान अवधि बढाउन सम्बन्धित निकायमा पहल गरिरहेका छौँ,’ अध्यक्ष थपलियाले भने ।

    नेपाल नागरिक उड्डयन प्राधिकरणले कात्तिक २३ गतेदेखि काठमाडौँ विमानस्थल मर्मतको काम सुरु गर्दैछ । करिब ६ महिना विमानस्थलको उडान १० घण्टा बन्द हुनेछ। यसले अन्तर्राष्ट्रिय एयरलाइन्सको उडानमा भारी कटौती हुनेछ ।

    नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले पर्यटकीय सिजनमा देशका अधिकांश गन्तव्यहरू पर्यटकले भरिभराउ भएको बताए ।

    ‘गन्तव्यहरूमा विदेशी तथा स्वदेशी पर्यटकको घुइँचो लागेको छ । होटल तथा रिसोर्टहरुमा अकुपेन्सी एकदमै राम्रो रहेको पाइएको छ,’ उनले भने, ‘अक्टोबरको सुरुआतमा वर्षाले एकसाता समस्या गरे पनि हाल सबै चिज सामान्य भएर पर्यटन पुरानै लयमा फर्किएको छ ।’

    निर्देशक लामिछानेका अनुसार सेप्टेम्बरमा हालसम्मकै सबैभन्दा धेरै पर्यटक आएका र अक्टोबरमा पनि त्यो सङ्ख्या बढ्ने विश्वास व्यक्त गरे ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend