काठमाडौँ । बूढानीलकण्ठ हेरिटेज होटेलले प्राथमिक सेयर निष्कासन गर्ने भएको छ ।
मंसिर १४ गते होटेलको छैठौं वार्षिक साधारण सभा हुने भएको हो ।
कम्पनीले साधारण सभामा आइपिओको प्रस्तावसमेत लगेको छ ।
होटेलले अहिले कायम सेयरधनीको लागि २९.५६ प्रतिशत हकप्रद सेयर समेत जारी गर्ने भएको छ । यससँगै होटेलको चुक्ता पुँजी एक अर्ब १० करोड रूपैयाँ पुग्नेछ ।
कम्पनीले त्यसपछि आइपिओ समेत ल्याउने भएको हो ।
कम्पनीले होटेल निर्माण सुरू गर्दा अनुमानित लागत एक अर्ब ५० करोड रूपैयाँ राखेको थियो । ९० करोड ऋण लिएर र बाँकी सेयर पुँजीबाट लगानी जुटाउने सोच राखेको थियो ।
पछिल्लो समय होटेल निर्माणको लागत बढेर दुई अर्ब ३७ करोड रूपैयाँ पुग्ने संशोधिन अनुमान गरिएको रेटिङ कम्पनी इक्रा नेपालले उल्लेख गरेको छ ।
कम्पनीले पछिल्लो समय विवरण दिन सहयोग नगरेको भन्दै इक्रा नेपालले कम्पनीको स्तर घटाएको छ। यो होटेल पाँच तारे होटेल हो ।
सुरूमा २०२१ डिसेम्बरमै होटेल सञ्चालनमा आउने भनिए पनि गत वर्षबाट सञ्चालनमा आएको हो । कम्पनीको लगानीकर्तामा चार्टर्ड एकाउन्टेन्ट, डाक्टर र उद्यमी व्यवसायीहरू छन् ।