काठमाडौँ । पछिल्लो समय पर्यटकबाट हुने आम्दानीमा वृद्धि भएको छ ।
राष्ट्र बैङ्कले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो महिना (भदौ) मा पर्यटकबाट हुने आम्दानी ५३.९ प्रतिशतले बढेको हो ।
राष्ट्र बैंककाअनुसार पर्यटकबाट हुने आम्दानी ९ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ । यसअघि २०७९र८० को दोस्रो महिनामा पर्यटकबाट ६ अर्ब ६ करोड रुपैयाँ आम्दानी भएको थियो ।
कोभिड महामारीपछि सन् २०२३ मा नेपाल घुम्न आउने पर्यटकको सङ्ख्या बढेको छ । पर्यटन बोर्डको तथ्यांकअनुसार सन् २०२३ को १० महिना (जनवरीदेखि अक्टोबर)मा ६ लाख ९२ हजार पर्यटक भित्रिएका छन् । जबकि सन् २०२२ को वर्षभरिमा ६ लाख १४ हजार पर्यटक भित्रिएका थिए ।
हाल नेपालमा पर्यटकीय सिजन चलिरहेकाले मासिक झन्डै एक लाख पर्यटक भित्रिरहेका छन् । जस कारण पर्यटकबाट हुने आम्दानीमा पनि वृद्धि भएको देखिन्छ । यस्तै, नेपालबाट अध्ययन र विदेश भ्रमणमा जान हुने खर्च ७६.५ प्रतिशतले वृद्धि भएर ३५ अर्ब ५९ करोड पुगेको छ ।