काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले गौतमबुद्ध विमानस्थल सञ्चालनका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
सिद्धार्थ उद्योग वाणिज्य संघ रूपन्देहीद्वारा शनिबार भैरहवामा आयोजित गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थलको दिगो सञ्चालन सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा व्यवसायीहरूले आशंका गरेपछि मन्त्री पाण्डेले अन्तर्राष्ट्रिय उडान नरोकिने प्रतिबद्धता समेत जनाए ।
नेपालकै मध्यभागमा रहेको र बुद्धजन्मस्थल लुम्बिनी समेत नजिकै रहेकाले गौतमबुद्ध विमानस्थल सञ्चालन हुँदा यात्रुलाई पनि सहज हुने मन्त्री पाण्डेले बताए ।
उनले विमानस्थल दिगो रूपमा सञ्चालन गर्नका लागि आफू महिनामा २ पटक विमानस्थल पुग्ने समेत प्रतिबद्धता गरे ।
‘महिनामा दुई पटक विमानस्थलकै लागि भैरहवा आउनेछु,’ उनले भने, ‘संस्कृति र पर्यटन जोडिएकाले भैरहवाबाटै आफ्नो कार्यकक्ष चलाऔं भन्नेमा लागेको छ।’
मेचीमहाकालीको बीचमा रहेको स्थल, लुम्बिनी र पोखरा समेत नजिक भएकाले यो विमानस्थल चलाउनुपर्छ भनेर लागिपरेको उनले बताए ।
मन्त्री पाण्डेले बुद्ध जन्मस्थल लुम्बिनीलाई नै केन्द्रमा राखेर विमानस्थल सञ्चालन गरिएकाले भैरहवा अब पर्यटनको इपिसेन्टरको संज्ञा दिए ।
उनले विमानस्थलसँग सम्बन्धित श्रम, भिसा, मेडिकल, म्यानपावर कम्पनी लगायतका अत्यावश्यक कार्यालयहरू स्थापनाका लागि साउनमै निर्णय भएको बताए ।
मन्त्री पाण्डेले छिट्टै प्रधानमन्त्रीस्तरीय बैठक बसेर कार्यान्वयन गरिने समेत जानकारी दिए ।
गौतमबुद्व विमानस्थलमा नियमित उडान गर्न र लुम्बिनी विकास कोषलाई सुधारका लागि आफू पर्यटनको इपिसेन्टर लुम्बिनी आउने उनको भनाइ छ ।
‘अहिले अन्तर्राष्ट्रिय उडान भएपछि तपाईहरूले बधाई दिँदा म झस्किन्छु, किनभने ५ महिनापछि त्यो बधाई बजाइमा परिणत हुन्छ भन्ने कुरा मैलै ख्याल गरेको छु,’ मन्त्री पाण्डेले भने ।
उनका अनुसार विमानस्थलसँग सम्बन्धित तत्काल गर्नुपर्ने काम र प्राविधिक तथा दिगो रूपमा गर्नुपर्ने कामहरूलाई सूचीबद्ध गरेर गरिनेछ । भैरहवाको विमानस्थल सञ्चालन हुने बित्तिकै पोखरा पनि चल्ने विश्वास उनले व्यक्त गरे ।