काठमाडौँ । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तत्कालका लागि उडान गर्न नसकिने भन्दै तीनवटा वायुसेवा कम्पनीले जनाएका छन् ।
जजीरा एयरवेज, फ्लाई दुबई र थाई एयर एसियाले मौसमको कारण देखाएर केही समय उडान स्थगित गर्नुपर्ने भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणलाई लिखित रुपमा स्थगितको पत्र पठाएका हुन् ।
प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार अहिले भैरहवामा १ हजारदेखि १२ सय मिटर हाराहारीमा भिजिबिलिटी हुने गरेको छ । यो विमान अवतरणका लागि पर्याप्त होइन । एटीआरलगायत ठुला जहाजका लागि न्यूनतम १८ सय मिटर भिजिबिलिटी आवश्यक पर्छ ।
भैरहवामा आरएनपीएआर एप्रोच (रिक्वायर्ड न्याभिगेसन पर्फरमेन्स अथोराइजेसन) प्रणाली नभएका कारण यो समस्या देखिएको हो ।
एयरलाइन्सले औपचरिक रुपमा उडान स्थगित गर्नुअघि प्राधिकरणले अनुमति दिनुपर्छ । पछिल्ला केही दिनदेखि बाक्लु हुस्सु लाग्न थालेपछि भैरहवामा अपराह्नसम्म उडान, अवतरण भइरहेको छैन ।
प्राधिकरणले माघ १० भित्र आरएनपीएआर एप्रोच प्रणाली जडान गर्ने जानकारी गराएको छ ।