logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:24 AM

  • राजविराज विमानस्थलमा रात्रिकालीन उडान सुरु, कति पुग्याे रात्रिकालीन उडान हुने विमानस्थलको संख्या ? 

    राजविराज विमानस्थलमा रात्रिकालीन उडान सुरु, कति पुग्याे रात्रिकालीन उडान हुने विमानस्थलको संख्या ? 


    पर्यटन नेपाल

    मंगलबार, २ पुष २०८१


    काठमाडौँ । बुद्ध एयरले सप्तरीको राजविराज विमानस्थलबाट व्यावसायिक रुपमा रात्रिकालीन उडान सुरु गरेको छ ।

    रात्रिकालीन उडान सेवाका लागि आवश्यक उपकरण जडान गरिएसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले राजविराज विमानस्थलमा रात्रिकालीन उडानको उद्घाटन गरेका हुन् ।

    पाण्डेले राजविराजमा रात्रिकालीन सेवा सुरुभएसँगै यसले पर्यटन र समग्र अर्थतन्त्रको विकासमा टेवा पुग्ने विश्वास  रहेकाे बताए ।

    उनले भने, ‘अब राजविराज छायामा पर्ने छैन । विमानस्थलाई नियमित सञ्चालनका लागि सबै प्रयत्न गरिनेछ । यहाँको प्राकृतिक सम्पदा र संस्कृतिक सम्पदाको अवलोकन गरेर मात्रै यात्रु फर्किने छन ।’

    उनले राजविराजबाट पोखरालगायत गन्तव्यमा सिधा उडान गर्नेगरी आगामी दिनमा यसलाई विकास गरिनुपर्नेमा जोड दिए । यसअघि मन्त्री पाण्डेले एयरफिल्ड लाइटिङ सिस्टमको उद्घाटन गरेका थिए ।

    विविधितापूर्ण प्रकृति र संस्कृतिले भरिपूर्ण नेपालको पर्यटनलाई प्रवद्र्धनका निम्ति यो विमानस्थल सहयोगी बन्ने उनकाे धारणा थियाे ।

    नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले राजविराजमा रात्रिकालीन उडानले समग्र विकासको सम्भावनाको ढोका खुलेको उल्लेख गरे । राजविराज विमानस्थलमा यसअघि बुद्ध एयरले दिउँसोको समयमा दैनिक एउटा उडान गरिरहेको थियो ।

    नागरिक उड्डयन प्राधिकरणको सहयोगमा बुद्ध एयरले गत शुक्रबार (१३ डिसेम्बर) रात्रिकालीन उडानको परीक्षण गरेको थियो । उक्त उडान सफल भएसँगै बुद्ध एयरले साेमबार काठमाडौँदेखि राजविराजको रात्रिकालीन व्यवसायिक उडान सुरु गरेको हो ।

    प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार विमानस्थलमा आइएफआर नियम अनुसार उडान सुरु भएपछि हिउँदको समयमा कम भिजिबिलिटीका कारण हुने उडान रद्द हुने र डिले हुने समस्याबाट यात्रुहरुले छुटकारा पाउने छन् ।

    राजविराज विमानस्थल चन्द्रगढी, विराटनगर तथा जनकपुरबाट नजिक पर्ने हुँदा यसलाई आवश्यकताको बेला वैकल्पिक विमानस्थलका रुपमा पनि प्रयोग गर्न सकिने बुद्ध एयरका प्रवक्ता दीपेन्द्रकुमार कर्णले बताए ।

    रात्रिकालीन उडान हुने विमानस्थलको संख्या याेसँगै १० पुगेको छ ।

    भद्रपुर, विराटनगर, राजविराज, सिमरा, जनकपुर, काठमाडौँ, पोखरा, भैरहवा, नेपालगञ्ज र धनगढी विमानस्थल रात्रिकालीन उडान हुन्छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend