logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:29 AM

  • होटल संघ नेपाल र लुम्बिनी विहार क्षेत्रबीचको विवाद समाधान

    होटल संघ नेपाल र लुम्बिनी विहार क्षेत्रबीचको विवाद समाधान


    पर्यटन नेपाल

    बिहिबार, ४ पुष २०८१


    बुटवल । लुम्बिनी होटल संघ नेपाल र लुम्बिनी विहार क्षेत्रबीच लामो समयदेखिको विवाद समाधान हुने भएको छ ।

    लुम्बिनी गुरुयोजना क्षेत्रभित्र विभिन्न राष्ट्रले निर्माण गरेका विहार तथा गुम्बाहरुमा तीर्थयात्री राख्दा लुम्बिनीका होटलहरु बन्द हुने अवस्थामा पुगेको होटल व्यवसायीहरुले गुनासो गर्दै आएका थिए ।

    नेपाल सरकारले विभिन्न राष्ट्रहरुलाई सम्बन्धित मुलुकको पहिचान झल्किनेगरी गुम्बा तथा विहार निर्माणको लागि लुम्बिनी विकास गुरुयोजनाभित्र प्लट छुट्याएर जग्गा उपलब्ध गराएको छ ।

    तर लुम्बिनी भित्र विहार तथा गुम्बा निर्माण गर्ने बहानामा सयौं तीर्थयात्रीहरुलाई राख्न मिल्ने गरी संरचना निर्माण गरिएपछि स्थानीय पर्यटन व्यवसायीहरुले विरोध गर्दै आएका थिए ।

    लुम्बिनी आउने तीर्थयात्रीहरु होटलमा जस्तै सुविधा सम्पन्न विहार तथा गुम्बाहरुमा बस्ने गर्दा बाहिरका होटलहरु बन्द गर्ने अवस्थामा पुगेको भन्दै लामो समयदेखि विहार क्षेत्र र होटल व्यवसायीकाबीच विवाद उत्पन्न भएको थियो ।

    सोही विवाद समाधान गर्न र होटल व्यवसायी र गुम्बा विहारको बिषयले अन्तर्राष्ट्रियस्तरमा समेत नकारात्मक प्रचार हुन नदिन कोषकै नेतृत्वमा लुम्बिनी विहार तथा तीर्थयात्री व्यवस्थापन कार्यविधि २०८१ तयार पारिएको हो ।

    लुम्बिनी विकास कोषको नेतृत्वमा लुम्बिनी होटल संघ, लुम्बिनी साँस्कृतिक नगरपालिका र जिल्ला प्रशासन कार्यालय रुपन्देहीको संलग्नतामा उक्त कार्यविधि बनेको हो ।

    ८ बुँदे सहमति गर्दै तयार गरिएको उक्त कार्यविधिमा गुम्बा तथा विहारमा निश्चित संख्यामा भिक्षु, लामा, भन्ते, आर्थिक अवस्था कमजोर भएका तीर्थयात्री र चन्दादाताहरुलाई मात्रै राख्ने उल्लेख छ ।

    गुम्बा तथा विहारमा आएका धार्मिक तीर्थयात्रीहरुलाई होटल व्यवसायीहरुले समेत स्वागत सत्कार गर्ने गरी कार्यविधि तयार पारिएको लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण)ले जानकारी दिए ।

    ‘रुपन्देही क्षेत्र नं। ५ का प्रतिनिधिसभा सदस्य वासुदेव घिमिरेको उपस्थितीमा लुम्बिनी विकास कोषका पदाधिकारी, होटल व्यवसायी र विहारका प्रतिनिधिहरुको छलफलबाट कार्यविधि तयार भएपछि विहार र होटल व्यवसायीहरुबीचको विवाद र असमझदारी अन्त्य भएको छ,’ भट्टराईले भने ।

    प्रतिनिधिसभा सदस्य घिमिरेले होटल व्यवसायी र विहार क्षेत्रको विवादका कारण अन्तर्राष्ट्रियस्तरमा लुम्बिनीको नकारात्मक प्रचार भएको भन्दै दुबै पक्षको सहमती हुनु सकारात्मक भएको बताए ।

    ‘लुम्बिनी अन्तर्राष्ट्रिय पर्यटकीयस्थल भएकाले यहाँ विश्वभरका पर्यटकलाई आकर्षित गर्ने गरी वातावरण बनाउनुपर्छ,’ उनले भने ।

    लुम्बिनी होटल व्यवसायी संघ नेपालका अध्यक्ष गोविन्द ज्ञवालीले गुम्बा विहार र होटल व्यवसायीविच भएको असमझदारी कार्यविधि बनेसँगै अन्त्य भएको र अब इमान्दारीपूर्वक कार्यविधि कार्यान्वयन गर्नुपर्ने बताए ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend