काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल निकायलाई निर्देशन दिएका छन् ।
मन्त्री पाण्डेले सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पर्यटक सेवामा सहजीकरण गर्न सरोकारवालाहरुलाई निर्देशन दिएका हुन् ।
त्रिभुवन विमानस्थल विदेशीका लागि प्रमुख प्रवेशद्वार भएकाले यहाँका कर्मचारीले राष्ट्रिय पहिचान झल्किने खालको पोसाक लगाउन मन्त्री पाण्डेले आग्रह गरे ।
उनले भने, ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल संवेदनशील क्षेत्र हो । राजनीतिक मान्छेको सरल पहुँच भएका कारण यस क्षेत्रको धेरै गुनासो आउने गरेको छ । सुरक्षा निकायको भूमिका अझैं प्रभावकारी बनाउनुपर्ने देखिन्छ । हाम्रा सेवा यात्रुमैत्री हुन जरुरी छ । एक पटक आउने विदेशी पर्यटकलाई पटक–पटक आउने खालको वातावरण बनाउनुपर्छ ।’
उनलेले वार्षिक ४६ लाख यात्रु क्षमता भएको त्रिभुवन विमानस्थलले हाल ९० लाखलाई सेवा दिनुपर्ने बाध्यता रहेको बताए ।
मन्त्रि पाण्डेले भन्सार, अध्यागमन, एयरलाइन्स, प्राधिकरण कसले के–के काम गर्ने र कति समयभित्र गर्ने भनी प्राथमिकीकरण गर्न समेत निर्देशन दिएका छन् ।
प्रविधिमैत्री सेवा प्रवाह गरी सेवा चुस्तदुरुस्त पारि विमानस्थलमा देखिएका समस्या पहिचान गरी १५ दिनभित्र कार्ययोजना बनाएर अघि बढ्न उनले निर्देशन दिए ।