logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   06:59 AM

  • बन्दीपुरको पर्यटनलाई अन्तर्राष्ट्रियकरण गर्न ‘बन्दीपुर भ्रमण वर्ष २०२५’ मनाइँदै

    बन्दीपुरको पर्यटनलाई अन्तर्राष्ट्रियकरण गर्न ‘बन्दीपुर भ्रमण वर्ष २०२५’ मनाइँदै


    पर्यटन नेपाल

    शुक्रबार, १२ पुष २०८१


    काठमाडौँ । पहाडकी रानीको नामले चिनिने पर्यटकीय नगरी बन्दिपुर गाउँपालिकाको भ्रमण वर्ष २०२५ को तयारी तीव्र गतिमा गरिएको छ ।

    बन्दिपुरले सन् २०२५ लाई बन्दिपुर भ्रमण वर्षको रूपमा मनाउन लागेको हो । यस भिजिट बन्दिपुर २०२५ मा २ लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ ।

    विश्व पर्यटन दिवसको अवसरमा गत असोज १२ गते ‘भिजिट बन्दिपुर–२०२५’ (भिजिट बन्दिपुर) घोषणा गरिएको थियो ।

    बन्दीपुरको सुन्दरता, ऐतिहासिक पुरातात्त्विक क्षेत्र मठ मन्दिर तथा गढी लगायतका क्षेत्रहरूको प्रचारप्रसार गरी आन्तरिक र बाह्य पर्यटकहरूको सङ्ख्या वृद्धि गर्ने भ्रमण वर्षको उद्देश्य रहेको छ ।

    बन्दीपुरका विशेष गन्तव्यहरूलाई चिनाउनका लागि विभिन्न भाषामा प्रचार सामग्री तयार गरी क्युआर कोडबाट स्क्यान गरी सजिलै पढ्न हेर्न र सुन्न सकिने व्यवस्था समेत गरिएको छ ।

    बिहीबार बन्दीपुरमा पत्रकार सम्मेलन गरी बन्दिपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले बन्दीपुरमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘भिजिट बन्दिपुर–२०२५’ घोषणा गरिएको बताए ।

    घुम्न जाऊँ है बन्दीपुर अन्तर्गत गत आर्थिक वर्ष देशका प्रमुख सहरहरू काठमाडौँ पोखरा चितवन बुटवल भैरहवा लगायतका स्थानमा त्यहाँका सरोकारवाला निकाय तथा विभिन्न सङ्घ संस्थासँग अन्तरक्रिया गरी बन्दीपुर घुम्नका लागि निम्ता गरिएको अध्यक्ष थापाले बताए ।

    अध्यक्ष थापाले भने, ‘आन्तरिक तथा बाह्य पर्यटकलाई बन्दीपुर भित्र्याउने उद्देश्यले बन्दिपुर भ्रमण वर्ष मनाउन लागिएको हो ।’

    त्यस्तै संयोजक बैँसबहादुर गुरुङले बन्दिपुर क्षेत्रको पर्यटकीय आकर्षण, उद्योग व्यापार, भौतिक पूर्वाधार तथा मानव शक्तिको विकासका साथै प्रवर्द्धनात्मक गतिविधिहरूमा गुणात्मक सुधार ल्याउनकोलागि बन्दिपुर भ्रमण वर्ष २०२५ आयोजना गरिएको बताए ।

    उनले भने, ‘भ्रमण वर्षको अवधिभर राती बास बस्ने गरी न्यूनतम २ लाख पर्यटक बन्दिपुर भित्र्याउने लक्ष्य रहेको छ ।’ अन्य समयमा वर्षमा करिब ६० हजार पर्यटक बन्दिपुर भिजिट गर्न आउँछन् ।

    बन्दिपुरलाई एक सुन्दर, शान्त, सुरक्षित पर्यटकीय गन्तव्यको रूपमा विश्व माझ चिनाउने, प्रकृति र संस्कृतिमा आधारित पर्यटन क्षेत्रको विविधीकरण र विस्तारद्वारा स्थानीय समुदायमा रोजगारको सिर्जना गरी उनीहरूको जीवनस्तरमा सुधार ल्याउने, बन्दिपुर क्षेत्रका मूर्त एवं अमूर्त सांस्कृतिक सम्पदाहरूको अध्ययन, अनुसन्धान गरी तिनीहरूको आधिकारिक पहिचान, उचित संरक्षण र व्यवस्थापन गरी स्थानीय समुदायदेखि अन्तर्राष्ट्रिय स्तरसम्म एक आपसमा सम्मान, सद्भाव एवं भाइचाराको अभिवृद्धि गर्ने तथा बन्दिपुर इको कल्चरल टुरिजम प्रोजेक्टका रणनीतिक योजनाको निरन्तरताका साथै बन्दिपुर पर्यटन गुरुयोजनाको प्रभावकारी कार्यान्वयनकालागि सहयोग पु¥याउनु बन्दिपुर भ्रमण वर्षको मुख्य उद्देश्य रहेको छ ।

    यसै गरी बन्दिपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानले ‘भिजिट बन्दीपुर–२०२५’ मा वर्षभरि गाउँपालिकाका सबै वडाहरूमा पर्यटन प्रवर्द्धनका विभिन्न कार्यक्रम गरी पर्यटकीय क्षेत्रलाई थप प्रवर्द्धन गरिने र वर्षभरि नै पर्यटकहरूलाई विभिन्न प्याकेज दिइने बताए ।

    बन्दिपुर भ्रमण वर्षको क्रममा बन्दिपुर गाउँपालिका भित्र रहेका विभिन्न होमस्टेहरूको प्रवर्द्धन र प्रचार प्रसार गर्ने, पर्यटकीय पुर्वाधारहरुको विकास गर्ने, पर्यटकहरूको बसाई लम्ब्याउन विभिन्न सांस्कृतिक कार्यक्रमहरू आयोजना गर्ने, खाना महोत्सव तथा स्थानीय उत्पादनहरू सुन्तला, मह, पिँडालु, मास लगायतको प्रवर्द्धन गर्ने उद्देश्य पनि रहेको छ ।

    बन्दिपुर क्षेत्रको पर्यटन प्रवर्द्धन र पर्यटन विकासका लागि सन २०२५ लाई बन्दिपुर भ्रमण वर्षको रूपमा मनाउने निर्णय गरी गाउँपालिकाले बन्दिपुर भ्रमण वर्ष २०२५ कार्यक्रम सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कार्यविधि २०८१ पारित गरिसकेको छ ।

    उक्त कार्यविधिले भ्रमण वर्ष प्रभावकारी, पारदर्शी, मितव्ययी एवं नतिजामुखी तवरबाट सञ्चालन, अनुगमन तथा मूल्याङ्कनका साथै अभिमुखीकरणलागि विभिन्न समिति तथा उपसमितिहरूको व्यवस्था गरेको अध्यक्ष थापाले बताए ।

    बन्दिपुर भ्रमण वर्ष २०२५ को खर्चको ५० प्रतिशत बन्दिपुर गाउँपालिकाले नै व्यहोर्ने भएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend