काठमाडौँ । अछामको कमलबजार नगरपालिकाको विमानस्थलमा आज परीक्षण उडान हुँदै छ ।
आज तारा एयरको जहाजलाई कमलबजार विमानस्थलमा अवतरण गरि निरिक्षण गरिने भएको हो ।
परीक्षण उडानका लागी संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी, निर्देशक बाबुराम पौडेल लगायतको टोली कमलबजार जाने भएको छ ।
निर्माण सुरु भएको ३२ वर्षपछि विमानस्थलमा परीक्षण उडान हुन लागेको हो । आर्थिक वर्ष २०८०/०८१ मा विनियोजित बजेटले विमानस्थलमा ग्राभेल गरिएपछि परीक्षण उडान हुन लागेको हो ।
कमलबजार विमानस्थलको निर्माण कार्य २०४९ सालमा सुरु गरिएको थियो । २०४८ सालमा ४ करोड ६३ लाख रुपैयाँको लागतमा निर्माण गर्ने इस्टिमेट गरिएको यो परियोजनामा प्रारम्भिक चरणमै २ करोड ५० लाख रुपैयाँ खर्च भएको थियो ।
२०५८ सालमा निर्माण सम्पन्न भई सञ्चालनको तयारी भइरहेका बेला तत्कालीन विद्रोही नेकपा माओवादीको आक्रमणले विमानस्थल बन्द हुन पुग्यो ।
विमानस्थल सञ्चालन हुन नसक्दा स्थानीय बासिन्दाले यसलाई गाईबस्तु चराउने गौचरन, पार्टी कार्यक्रम तथा खेलकुद गतिविधिका लागि प्रयोग गर्दै आएका थिए ।