logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   06:08 AM

  • धरहराबाट ५५ लाख राजस्व सङ्कलन, दैनिक बाह्र सयले चढ्छन् धरहरा

    धरहराबाट ५५ लाख राजस्व सङ्कलन, दैनिक बाह्र सयले चढ्छन् धरहरा


    पर्यटन नेपाल

    सोमबार, १५ पुष २०८१


    काठमाडौँ । धरहराबाट एक महिनामा ५५ लाख रुपैयाँ राजस्व उठेको छ ।

    गत मंसिर ९ गतेदेखि सर्वसाधारणलाई शुल्कसहित खुला गरिएको धरहराबाट ५५ लाख रुपैयाँ राजस्व सङ्कलन भएको हो ।

    कामु आयोजना निर्देशक प्रकाश अर्यालका अनुसार हरेक बुधवार धरहरा बन्द हुन्छ । यसबाहेक अन्य दिन दैनिक करिब एक हजार दुई सयले धरहरा चढिरहेका छन् ।

    उनले भने, ‘९ गतेदेखि हालसम्म ३१ हजार बढी नागरिकले धरहरा चढिसकेका छन्। यसमा १२ वर्षमुनिका बालबालिकाको तथ्याङ्क राख्ने गरिएको छैन ।’ बिहान साढे १० देखि ३ बजेसम्म धरहरा चढ्ने व्यवस्था गरिएको छ ।

    उनले भने, ‘छोटो समयमा नागरिकको उल्लेख्य उपस्थिति देखियो। समय अभावका कारण यहाँ आएका सबैलाई टिकटको व्यवस्था गरी धरहरा अवलोकनको व्यवस्था गर्न सकिएको छैन ।’

    पछिल्लो समय छिमेकी मुलुक भारतबाट समेत धरहरा अवलोकन गर्न आउने गरेका छन् । बिहानदेखि साँझसम्म धरहरा चढ्ने व्यवस्था गर्न सक्ने हो भने दैनिक एक हजार पाँच सय बढीले धरहरा चढ्ने अनुमान छ ।

    धरहरा चढ्न प्रतिव्यक्ति दुई सय शुल्क तोकिएको छ । विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका, अपाङ्गता भएका व्यक्तिहरूले ५० प्रतिशत छुटमा चढ्न पाउने व्यवस्था छ ।

    सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति पाँच सय र सार्कबाहेक राष्ट्रलाई प्रतिव्यक्ति एक हजार रुपैयाँ शुल्क छ ।

    विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश, २०८१ बमोजिम शुल्क लिई गत मंसिर ९ देखि धरहरा सञ्चालनमा आएको हो । त्यसअघि गत मंसिर ६ गते बसेको मन्त्रिपरिषद् बैठकले धरहरा खुला गर्ने र शुल्क पनि स्वीकृत गर्ने निर्णय गरेको थियो ।

    यहाँ पार्किङ गर्दा चार पाङ्ग्रेका लागि प्रतिघण्टा २० र दुईपांग्रेलाई १० रुपैयाँ तोकिएको छ । धरहरा परिसरमा प्रवेशका लागि ५० रुपैयाँ निर्धारण गरिएको छ ।

    धरहरा स्तम्भमा राष्ट्रिय महत्त्वका विज्ञापन गर्न प्रतिघण्टा पाँच हजार रुपैयाँ तोकिएको छ । व्यावसायिक भिडिओ छायाङ्कनका लागि प्रतिघण्टा पाँच हजार र फोटोग्राफीका लागि प्रतिघण्टा एक हजार रुपैयाँ शुल्क छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend