काठमाडौँ । विश्व कीर्तिमानी पर्वतारोही तथा माउन्टेन गाइड मिङ्मा ग्याल्जे शेर्पालाई काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ ।
अर्जेन्टिनामा रहेको अकोन्कागुवा हिमालको सफल आरोहण गरी आज काठमाडौँ आइपुगेका शेर्पालाई नेपाल पर्वतारोहण संघ, नेपाल नेशनल माउण्टेन गाइड एशोसिएसन, माउण्ट एभरेष्ट समिटर्स क्लब, रोल्वालिङ दोलखा, इमाजिन नेपाल ट्रेक्सले भव्य स्वागत गरेको हो ।
अरण्य बुटिक होटलमा उनको स्वागत कार्यक्रम रहेकाले उनलाई विमानस्थलबाट र्याली गर्दै सो होटल पुर्याइने कार्यक्रम रहेको छ ।
हालै पुष १३ गतेका दिन शेर्पाले अर्जेन्टिनामा रहेको अकोन्कागुवा हिमालको सफल आरोहण गरेसँगै सेभेन समिट (सात महाद्वीपका शिखरहरु) चुम्न सफल भइ उनी काठमाडौँ फर्किएका हुन् । साथै उनले स्की गरेर दक्षिण ध्रुव पनि पुग्न सफल भएका हन् ।
यसअघि शेर्पाले यही वर्षको असोज १८ गतेका दिन चीनमा रहेको शिशपाङ्मा हिमालको बिना अक्सिजन (पूरक अक्सिजन बिना) सफल आरोहण गरेका थिए ।
मिङ्मा पूरक अक्सिजन बिना नै विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमालहरु आरोहण गर्ने पहिलो नेपाली बन्न सफल व्यक्ति हुन् ।
मिङ्मा आईएफएमजीए÷यूआईएजीएम प्रमाणित माउन्टेन गाइड हुनुका साथै इमाजिन नेपाल ट्रेक्स कम्पनीका संचालक पनि हुन् ।