काठमाडौँ । सद्गमय रियालिटी सो कार्यक्रमको दोस्रो सिजन प्रशारणको घोषणा भएको छ ।
होटल बसेरामा एक कार्यक्रम गरि दोस्रो सिजन प्रशारणको घोषणालगरिएको हो ।
१५ एपिसोड संचालन हुने सो २०८१ माघ १७ गतेबाट हरेक बिहीबार साँझ ८ स् ३० बजे प्रशारण हुने छ ।
कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्दै नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले कार्यक्रमले समाज रूपान्तरणमा सहयोग पुग्ने हुनाले यस्ता कार्यक्रम निर्माण र प्रशारणमा जोड दिनुपर्ने बताए ।
त्यसैगरी एमालेका नेता एवम् पूर्व कानुन मन्त्री पदम गिरी टेलिभिजनहरूले समाज रूपान्तरमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको सन्दर्भमा अझ प्रभावकारी हुन र आफ्नो दायित्व निर्वाह गर्न सुझाएका थिए ।
पूर्व मन्त्री एवम् एकीकृत समाजवादीकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले प्रेसले स्वतन्त्रताको नाममा सामाजिक आँच आउने खाले गतिविधि बढ्न थालेको हुनाले नियमनको आवश्यकता रहेको औँल्याइन् । अहिलेको प्रेस चरित्र हत्या गरेर भ्यूज बढाउन लागि परेको उनको आरोप थियो ।
रास्वपाका सचेतक निशा डाँगीले खोज पत्रकारिताको स्वरूप फेरिदै गएको प्रति चिन्ता व्यक्त गरिन् । नेपाल विज्ञापन संघका अध्यक्ष सुदीप थापाले अहिले बजार कमजोर भएको समयमा यस्ता कार्यक्रमको निर्माण गर्न चुनौति थपिएको बताए । उनले भने, ‘कमजोर बजारको प्ररिणाम सबै क्षेत्रले भोगिरहेका छन् तर त्यसको मारबाट विज्ञापन क्षेत्रसमेत अछुतो रहन सकेको छैन ।’
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै कार्यक्रम प्रस्तोता रमेश पौडेलले समाजमा भएका विभिन्न समस्याको उजागर गर्न र ती समस्यालाई कसरी निराकरण गर्न सकिन्छ भन्ने उद्देश्यले कार्यक्रम निर्माण गरिएको बताए ।
यो कार्यक्रम सामाजिक रूपान्तरका लागि बनाइएको हुनाले कसैमाथि आरोप प्रत्यारोप र राजनीतिक गन्धबाट मुक्त हुने बताए ।
सद्गमय कार्यक्रमको निर्माण संस्कृति एड्भरटाइजिङ प्रा।लिले गरेको हो भने यो कार्यक्रम निर्माण समूहका निर्देशक मोहनराज अधिकारी, प्रस्तोता रमेश पौडेल, अनुसन्धान तथा कथा लेखन साहित्यकार बोधराज पौडेल, डिओपीमा धन योञ्जन तामाङले गरेका छन् ।
कार्यक्रमको अध्यक्ष अन्नपूर्ण ब्रोर्डकाष्ट मिडिया प्रा। लिका उपाध्यक्ष राजेन्द्र शाक्यले यो कार्यक्रम निर्माण गरी प्रशारणको अभिभार सुम्पनु भएकोमा संस्कृति एड्भरटाइजिङ प्रा। लि र प्रस्तोता रमेश पौडेललाई धन्यवाद धेरै मेहनत र दुःखले कार्यक्रम निर्माण गरेको बताए ।
राजनीतिक दलका प्रतिनिधि, विज्ञापन दाता, विज्ञापन एजेन्सी र पत्रकार गरी दुई सय जनाको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको संचालन समा थापाले गरेकी थिइन् ।