logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:28 AM

  • पाटन दरबार क्षेत्रका दुई ऐतिहासिक सम्पदा पुनर्निर्माण हुन बाँकी

    पाटन दरबार क्षेत्रका दुई ऐतिहासिक सम्पदा पुनर्निर्माण हुन बाँकी


    पर्यटन नेपाल

    बुधबार, २ माघ २०८१


    ललितपुर । वि.सं २०७२ को भूकम्पले क्षति पुर्‍याएको विश्व सम्पदा सूचीमा रहेको ललितपुरको पाटन दरबार क्षेत्रका २४ ऐतिहासिक सम्पदा मध्ये २२ सम्पदाको पुनर्निर्माण भइसकेको छ भने दुई संरचना पुनर्निर्माण हुन बाँकी छ । उक्त सम्पदा पुनर्निर्माण प्रक्रिया अघि बढेको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयले जनाएको छ ।

    राणाकालीन अदालत भवन र ऐतिहासिक नरसिंह मन्दिर पुनर्निर्माण भइरहेको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका प्रमुख मन्जु थापाले जानकारी दिइन् ।

    उनले भनिन्, ‘भारत सरकारको सहयोगमा पुनर्निर्माण हुन लागेको अदालत भवनको दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको छ । ऐतिहासिक नरसिंह मन्दिरको पनि ललितपुर महानगरपालिकाको सहयोगमा पुनर्निर्माण अघि बढेको छ ।’

    करिब चार सय वर्ष पुरानो नरसिंह मन्दिरमा एक सय ५३ थरिका इँटा प्रयोग गरिएकाले हाल इँटा तयारी भएको ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले जानकारी दिए । उनका अनुसार उक्त मन्दिरको पुनर्निर्माण आगामी आठ महिनाभित्र सम्पन्न हुनेछ ।

    भूकम्पले क्षति पुर्‍याएका केही संरचना पुनर्निर्माण भई उद्घाटन भइसकेका छन् । कम क्षति पुगेका सम्पदाहरूको सामान्य मर्मत गरिएको पाटन दरबार संग्रहालयका प्रमुख सुरेशमान लाखेले बताए ।

    उनका अनुसार पाटनदरबारको सबैभन्दा ठुलो मन्दिरको रूपमा चिनिने देगुतलेजु मन्दिर पुनर्निर्माण सम्पन्न भएको छ ।

    विसं १९९० को भूकम्पले भत्काएको भाइदेव मन्दिर संरक्षणको काम अघि बढेको भएपनि आर्थिक अभावका कारण पुनर्निर्माण सम्पन्न हुनसकेको छैन ।

    विभिन्न दाताहरूको सहयोगबाट पुनर्निर्माण सुरु भएको उक्त मन्दिरको काम हाल स्थगित छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend