काठमाडौँ । चालू आर्थिक वर्ष ०८१/८२ को ६ महिनामा एक लाख १० हजार ३४५ पर्यटकले चितवन राष्ट्रिय निकुञ्ज अवलोकन भ्रमण गरेका छन् ।
निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार साउनयता निकुञ्जमा ५३ हजार १०३ नेपालीले भ्रमण गरेका छन् ।
दक्षिण एसियाली मुलुकका १० हजार ८५० र तेस्रो मुलुकका ४६ हजार ३९२ जनाले निकुञ्ज भ्रमण गरेका छन् ।
पर्यटकबाट १३ करोड एक लाख ४६ हजार राजस्व संकलन भएको उनले बताए ।
निकुञ्जमा दुर्लभ एकसिंगे गैँडा, पाटेबाघ, गोहीलगायत वन्यजन्तु, जलचर र चराचुरुंगी हेर्न पर्यटक आउने गरेका छन् ।
निकुञ्ज र मध्यवर्ती क्षेत्रमा हात्ती, डुंगा, जिप र पैदल यात्रा गरेर पर्यटक रमाउने गर्छन् । चितवनको मुख्य आकर्षण नै चितवन राष्ट्रिय निकुञ्ज हो ।
यसैबिच, बिहीबार निकुञ्जमा एउटा पोथी गैँडा मृतावस्थामा भेटिएको छ । निकुञ्जको ध्रुव पोस्टनजिक ताप्लेतालमा अन्दाजी ३० वर्षको पोथी गैँडा मृत भेटिएको हो ।
उक्त गैँडा प्राकृतिक कारण मरेको आशंका गरिएको छ। मृत भेटिएको गैँडाको खाग र खुर सुरक्षित छ। चालू आर्थिक वर्षको पुस मसान्तसम्म १३ गैँडा मृत भेटिएका छन् ।
जसमध्ये पाँच भाले, पाँच पोथी र लिंग पहिचान नभएका तीन छन्। मृत भेटिएकामध्ये एउटा विद्युतीय करेन्ट लागेर मरेको हो भने अन्य सबै प्राकृतिक कारणले मरेका हुन् ।