logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:25 AM

  • अन्तर्राष्ट्रिय पर्यटन मेला ‘फितुर २०२५’ मा सहभागिताका लागि नेपाली टोली स्पेन प्रस्थान

    अन्तर्राष्ट्रिय पर्यटन मेला ‘फितुर २०२५’ मा सहभागिताका लागि नेपाली टोली स्पेन प्रस्थान


    पर्यटन नेपाल

    मंगलबार, ८ माघ २०८१


    काठमाडौँ । अन्तर्राष्ट्रिय पर्यटन मेला ‘फितुर २०२५’ मा सहभागी हुनका लागि नेपाली टोली स्पेन प्रस्थान गरेको छ ।

    नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को नेतृत्व र नेपाल पर्यटन बोर्डको सहकार्यमा म्याड्रिड, स्पेनमा आयोजना हुने विश्वप्रसिद्ध अन्तर्राष्ट्रिय ट्राभल ट्रेड फेयर फितुर २०२५ मा सहभागी हुन उक्त टोली सोमबार प्रस्थान गरेका हुन् ।

    २५ भन्दा बढी ट्राभल, ट्रेकिङ र होटल व्यवसायका कम्पनीहरूबाट ५० भन्दा बढी प्रतिनिधिहरू सहभागी भएको यस टोलीको नेतृत्व नाट्टा अध्यक्ष कुमारमणि थपलियाले गरेका छन् ।

    मेला चार दिन (जनवरी २२ देखि २६) सम्म आयोजना चल्नेछ ।

    नेपालका लागि महत्त्वपूर्ण मानिने युरोपेली बजारमा नेपालको पर्यटन प्रवर्द्धन गर्न यो सहभागिता विशेष रूपमा लक्षित गरिएको छ ।

    विगतका वर्षहरू जसरी नै बोर्ड र नाट्टाको संयुक्त सहकार्यमा नेपालका पर्यटन व्यवसायीहरूको यस मेलामा सहभागी हुन लागेका हुन् ।

    अघिल्लो वर्ष २०२४ को संस्करणमा भने आन्तरिक समस्याका कारण बोर्ड पर्यटन मेलामा सहभागी भएको थिएन ।

    नाट्टा अध्यक्ष कुमारमणि थपलियाले फितु जस्ता अन्तर्राष्ट्रिय मेलामा सहभागिताले नेपालको पर्यटनलाई विश्वभर चिनाउन अत्यन्त महत्त्वपूर्ण रहने बताए ।

    यस्ता कार्यक्रमले पर्यटन बजार विस्तार गर्न, नयाँ साझेदारहरूसँग सम्पर्क स्थापित गर्न र नेपाललाई एउटा प्रमुख गन्तव्यका रूपमा स्थापित गर्न सहयोग पुर्‍याउने उनको भनाइ छ ।

    ‘ नेपालमा पर्यटन क्षेत्रको दिगो विकासका लागि यस्ता कार्यक्रमहरूमा निरन्तर सहभागिता आवश्यक छ ’ उनले भने, ‘ नेपालका ट्राभल, ट्रेकिङ र होटल व्यवसायीहरूको सशक्त उपस्थिति यस मेलामा देखाउनु हाम्रो प्राथमिकता हो र यस पटकको सहभागिताले युरोपेली बजारमा हाम्रो पहिचान अझ मजबुत बनाउन विश्वस्त रहेको छु । ’

    यो मेला विश्वका सबैभन्दा ठूलो ट्राभल ट्रेड फेयरहरू मध्ये एक हो, जसमा १ लाखभन्दा बढी पर्यटकीय उद्योग व्यवसायी, प्रतिनिधि र व्यवसाय साझेदारहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ ।

    युरोपेली बजार नेपाल पर्यटनको प्रमुख स्रोत बजार हो, र यस क्षेत्रमा नेपालको सांस्कृतिक, प्राकृतिक तथा साहसिक पर्यटनको सम्भावना अत्यधिक रहेको छ ।

    नेपालका आकर्षक गन्तव्य तथा पर्यटकीय स्रोतहरूलाई विश्वव्यापी बनाउँदै आर्थिक गतिविधिलाई बलियो बनाउन यस्ता मेलाहरू महत्त्वपूर्ण प्लेटफर्मको रूपमा स्थापित भएका छन् ।

    नाट्टा र नेपाल पर्यटन बोर्डको सहकार्यले नेपालको पर्यटन व्यवसायलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्य लिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend