काठमाडौँ । नेपाल एसोसिएसन अफ राफ्टीङ्ग एजेन्सी (नारा) ले भोटेकोसीमा र्याफ्टिङ स्कुल बनाउन लागेको छ ।
नाराका अध्यक्ष शिव अधिकारीका अनुसार सातै प्रदेशसँग समन्वय गरी भोटेकोसीमा र्याफ्टिङ स्कुल बनाउन लागिएको हाे । याे एसियाकै नमुना स्कुल बन्ने छ ।
पछिल्लो समय ५० प्रतिशत र्याफ्टिङ व्यवसाय घटिसकेको छ । उनले भने, ‘पहिलाको तुलनामा १० प्रतिशत मात्र पर्यटक आएका छन् ।’
नेपालका महत्त्वपूर्ण नदीहरूलाई जोगाउनुपर्ने अवस्था आएका कारण पर्यटनमैत्री ऐन र स्पष्ट नीति ल्याउनु आवश्यक रहेको अध्यक्ष अधिकारीले दाबी गरे ।
‘जल पर्यटनको स्थिति नाजुक रहेको छ । जल पर्यटनमा व्यवसायको अर्बौँ पैसा फसिरहेको छ,’ उनले भने, ‘जलविद्युत आयोजना, ढुङ्गा गिटी बालुवाको उत्खननले गर्दा नदीहरू मासिन थालेका छन् ।’
राज्यले विकासको नाममा विनाश गरिरहेको अध्यक्ष अधिकारीले बताए । र्याफ्टिङको लागि दुई सयभन्दा बढी रिसोर्ट खोलेको अहिले सरकार लेनै खोलाको संरचना बिगारेको उनको भनाइ छ ।
उनले जल पर्यटनको विकास प्रवर्द्धनका लागि व्यवसायीहरूबिच समन्वय गरेर काम गर्नुपर्ने बताएका छन् । त्यस्तै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन बजारमा प्रचारप्रसार समेत गर्न सम्बन्धित निकाय लाग्नुपर्ने उनको दाबी छ ।
पछिल्लो समयमा बजार र खोला फेरिएको अवस्था छ । सो कारण अब र्याफ्टिङ व्यवसाय पलायन हुने अवस्था छ । अब चाहिँ कुनै खोला वा नदीलाई नमुना एड्भेन्चरको रूपमा बनाउनु पर्छ ।
त्यस्तै होटेल सङ्घ नेपाल, ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) ले पनि अब मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।