काठमाडौँ । डेढ अर्ब रुपैयाँ लगानीमा गौशालामा चार तारे होटल ‘बेस्ट वेस्टर्न प्लस’ सञ्चालनमा आएको छ ।
केएमसी ग्रुपका संस्थापकहरूको विश्व प्रसिद्ध अमेरिकी ब्रान्डसँग सहकार्य गरी ‘बेस्ट वेस्टर्न प्लस काठमाडौँ’ सञ्चालनमा आएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५०० मिटरको दुरी र पशुपतिनाथ मन्दिरको पैदल दुरीमा पिङ्गल स्थानमा अवस्थित यस होटेलले पर्यटन व्यवसायका क्षेत्रमा नयाँ आयाम भर्ने विश्वास लिइएको छ ।
नेपालको शिक्षा क्षेत्रमा अग्रणी स्थानमा रहेको केएमसी ग्रुपले होटेल क्षेत्रमा पनि लगानी विस्तार गरेको छ ।
बेस्ट वेस्टर्न प्लस काठमाडौँले नेपाली सांस्कृतिक समृद्धिलाई विश्वस्तरिय विलासितासँग संयोजन गर्दै नवीन अनुभव प्रदान गर्ने लक्ष्य लिएको छ । पाहुनाहरुलाई मौलिक तथा न्यानो आतिथ्य मार्फत प्रत्येक अनुभबहरु सम्झन लायक हुने गरी सेवा प्रदान गर्ने लक्ष्य पनि लिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र पशुपतिनाथ मन्दिर नजिकै अवस्थित यस होटलबाट काठमाडौँका प्रमुख पर्यटकीय स्थानहरू, सांस्कृतिक धरोहर र व्यावसायिक केन्द्रहरूसम्म सजिलै पुग्न सकिन्छ ।
होटलमा दुई उत्कृष्ट रेस्टुरेन्ट र रुफ टफ बार छन् । जहाँ १ सय ४० क्षमताको सनराइज क्याफे र १ सय ४० क्षमताको ला-भिस्टा रुफटप रेस्टुरेन्ट छन् । जहाँबाट काठमाडौं सहरको मनोरम दृश्य देखिन्छ ।
होटलमा दुई वटा हल छन् जसमा एक हजार २५० जना क्षमता रहेको छ । सम्मेलन, व्यावसायिक कार्यक्रम र सामाजिक भेला गर्न सकिन्छ ।
होटलले कर्पोरेट बैठकहरूका लागि अत्याधुनिक सुविधाहरू प्रदान गर्दछ भने स्मार्ट एलइडी स्क्रिनहरू र उच्च गुणस्तरको ध्वनि सुसज्जित समर्पित हलहरू व्यवसायी अनुभव सुनिश्चित गर्न सक्षम छन् ।
होटलमा फिटनेस सेन्टर, हेल्थ क्लब, स्पा, स्टिम, साउना र बाहिरी स्विमिङ रहेको छ ।
होटेलले दिगो विकासमा जोड दिएको छ । जसमा ऊर्जा कुसल प्रणाली र स्थानीय रूपमा उपलब्ध सामाग्रीहरू समावेश गरी वातावरणीय प्रभाव कम गर्ने व्यवस्था मिलाइएको छ ।

७ रोपनी क्षेत्रफलमा अवस्थित यस होटलमा ८४ कोठा (रुम) छन् । जसमा ४ वटा सुइट रुम, ७ वटा प्रिमियम रुम, १२ वटा सुपर डिलक्स रुम र ६१ वटा डिलक्स रुम रहेका छन् ।
नेपालको मौलिक परम्परा, मुुल्यहरु र न्यानो आतिथ्यलाई प्रवर्द्धन र प्रदर्शन गर्दै नेपालको अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्था बढाउने उद्देश्य राखिएको छ ।
त्यस्तै अन्तर्राष्ट्रिय पर्यटकहरूलाई आकर्षित गर्दै र विदेशी मुद्रा सञ्चिति वृद्धि गर्दै राष्ट्रिय अर्थतन्त्रमा योगदान गर्ने, वातावरणमैत्री अभ्यासहरू अपनाउँदै दिगो पर्यटन प्रवर्द्धन गर्ने र स्थानीय धरोहरा, कला, भोजन र संस्कृतिलाई प्रवर्द्धन गर्दै नेपाली सम्पदा र परम्पराको प्रचारप्रसार गर्ने उद्देश्यका साथ होटल सञ्चालनमा ल्याएको केएमसी ग्रुपले जनाएको छ । पब्लिक लिमिटेड कम्पनी अन्तर्गतको यस परियोजनामा डेढ अर्ब रुपैयाँ लगानी भएको छ ।

चाँडै आइपिओमा जाने योजना सहित यो होटलले नेपालको पर्यटकीय सेवाको क्षेत्रमा एक महत्त्वपूर्ण कोसेढुंगा बन्ने विश्वास राखेको छ ।