काठमाडौँ । तेन्जिङ नोर्गे शेर्पा ओपन क्लाइमिङ कम्पिटिशन (खुल्ला आरोहण प्रतियोगिता) को दोस्रो संस्करण आज बिहिबार सम्पन्न भएको छ ।
नेपाल राष्ट्रिय पर्वतारोहण पद प्रदर्शक संघ र यूएस-नेपाल क्लाइम्बर एशोसिएसनको संयुक्त आयोजनामा सुरु गरिएको उक्त प्रतियोगिता बौद्धस्थित क्रिम्पान्जी एड्भेन्चर हबमा फाइनल भएको हो ।
सो प्रतियोगिताको लागि आठ जना पुरुष र आठ जना महिला चयन भएका थिए ।
पुरुषतर्फ भिन्सेन्ट साब्लिचले पहिलो स्थान हासिल गरे भने दिपन गुरुङ दोस्रो, पाउल श्मिट तेस्रो, छेरेङ ग्याल्जेन शेर्पा चौथो र साजन लामा पाँचौँ स्थानमा रहे । त्यस्तै, महिलातर्फ टमसिन हन्टले पहिलो स्थान हासिल गर्दा मिङ्मा याङ्जी शेर्पा दोस्रो, फुरा डिकी शेर्पा तेस्रो, सन्तोषी मगर चौथो र दिपा लामिछाने पाँचौँ स्थानमा रहे ।
विजेताहरुलाई राष्ट्रिय खेलकुद परिषद् नेपालका सदस्य सचिव टंकलाल घिसिङले प्रमाणपत्र र नगद पुरस्कार वितरण गरे ।
प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्ने महिलारपुरुषले क्रमशः ४५ हजार, ३० हजार र १५ हजार नगद पुरस्कार प्राप्त गरे ।
दुबै विधाका चौथो र पाँचौँ स्थान प्राप्त गर्ने खेलाडीहरूले गिफ्ट ह्याम्पर प्राप्त गरे । पुरुष र महिलातर्फका सबैभन्दा कान्छा र जेष्ठ सहभागीलाई पनि गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो ।