logo

शनिबार, २७ भाद्र २०८३

logo

शनिबार, २७ भाद्र २०८३   |   11:28 AM

  • ‘केबलकार निर्माणले धार्मिक पर्यटन प्रवर्द्धन गर्दै रोजगारी सिर्जना गरि आर्थिक गतिविधि चलायमान बनाउने’

    ‘केबलकार निर्माणले धार्मिक पर्यटन प्रवर्द्धन गर्दै रोजगारी सिर्जना गरि आर्थिक गतिविधि चलायमान बनाउने’


    पर्यटन नेपाल

    शनिबार, २६ माघ २०८१


    काठमाडौँ । पाथीभरा देवी केबलकार प्रा.लि.ले केबलकार निर्माणले पर्यटन प्रवर्द्धन र स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने जनाएको छ ।

    शनिबार आयोजित पत्रकार सम्मेलनमा कम्पनीका अध्यक्ष चन्द्रप्रसाद ढकालले केबलकार परियोजनाले धार्मिक पर्यटनलाई प्रवर्द्धन गर्दै स्थानीय रोजगारी सिर्जना गर्ने र समग्र आर्थिक गतिविधिलाई चलायमान बनाउने बताए ।

    केबलकार निर्माणलाई लिएर विभिन्न तर्क–वितर्क भइरहे पनि परियोजनाले स्थानीय जीवनस्तर सुधार्ने, धार्मिक पर्यटनलाई सहज बनाउने र वातावरणमैत्री पूर्वाधार निर्माण गर्ने उनको भनाइ छ ।

    ढकालका अनुसार परियोजनाले ३०० जनालाई प्रत्यक्ष रोजगारी दिनेछ, जसमा ८० प्रतिशत स्थानीयलाई प्राथमिकता दिइने उल्लेख गरिएको छ ।

    हाल पाथीभरा क्षेत्रमा भरियाका रूपमा काम गरिरहेका व्यक्तिहरूलाई वैकल्पिक रोजगारी उपलब्ध गराउने प्रतिबद्धता पनि छ ।

    ‘स्थानीयको रोजगार सुरक्षित राख्दै नयाँ अवसर सिर्जना गर्ने हाम्रो लक्ष्य हो,’ उनले भने ।

    २।७५ किलोमिटर लामो केबलकार लाइनमा ३६ यात्रुवाहक गोन्डोला र २ वटा सामान बोक्ने गोन्डोला रहनेछन् । तल्लो स्टेसनबाट माथिल्लो स्टेसनसम्म १० मिनेट ३१ सेकेन्ड मात्र लाग्नेछ ।

    परियोजना वातावरणमैत्री हुने दाबी गर्दै ढकालले भने, ‘केबलकार विद्युतीय यातायात भएकाले प्रदूषण हुँदैन। काट्नुपर्ने प्रत्येक रूखबापत २५ नयाँ रूख रोप्नेछौं ।’

    केबलकार निर्माणलाई लिएर उठेका असहमति समाधान गर्न सरकार र आन्दोलनरत पक्षबीच वार्ता टोली गठन भएको छ ।

    यसबारे ढकालले भने, ‘हामीलाई सरकारले सर्तसहित अनुमति दिएको छ, त्यसैले अनुमतिअनुसार नै काम अघि बढाउँछौं ।’

    उनका अनुसार परियोजनाबाट आर्जन हुने नाफाको केही हिस्सा स्थानीय स्वास्थ्य, शिक्षा र पूर्वाधार विकासमा लगानी गरिने छ। ढकालले धार्मिक, आर्थिक र पर्यटन विकासका लागि सबै पक्षसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाए ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  |  Privacy Policy  |  Our Team  |  Contact  |  Site By : SobizTrend