logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   06:58 AM

  • पूर्वाधार नहुँदा पुगेनन् पर्यटक सुनछहरा

    पूर्वाधार नहुँदा पुगेनन् पर्यटक सुनछहरा


    पर्यटन नेपाल

    सोमबार, २८ माघ २०८१


    म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका-७ मा रहेको सुनछहरा पूर्वाधार र पर्यटकको पर्खाइमा छ । प्रशस्त सम्भावना भएर पनि पूर्वाधार र प्रचार-प्रसारको अभावका कारण सुनछहरा ओझेलमा परेको छ । व्यवस्थित पदमार्गको साथै झोलुंगे पुलको अभावका कारण सुनछहरामा पर्यटकहरु पुग्न सकेका छैनन् ।

    प्रचारप्रसारका अभावमा सुनछहराको विशेषता स्थानीयस्तरमै सीमित भएको चिमखोलाका बासिन्दा ललित गर्बुजाले बताए ।

    ‘धौलागिरि हिमालको आधार शिविर क्षेत्रमा पर्ने सुनछहराको धार्मिक र पर्यटकीय सम्भावना भए पनि ओझेलमा परेको छ,’ उनले भने, ‘सुनछहरामा पूर्वाधार विकास र प्रवर्द्धनको आवश्यकता छ ।’

    भारतीय सेनामा कार्यरत गर्बुजाको अगुवाईमा मण्डली युवा क्लवका पदाधीकारी, पर्यटन व्यवसायी र सञ्चारकर्मीहरूको टोली गत हप्ता समुन्द्री सतहदेखि तीन हजार नौ सय पचास मिटर उचाइमा रहेको सुनछहरा पुगेर फर्किएको थियो ।

    किम्बदन्ती अनुसार परापुर्वकालमा ध्यान बस्नका लागि झरनामा पुगेका एक जना बाजा बजाउने व्यक्तिलाई भगवान प्रशन्न भएर बर माग्न अनुरोध गरेका थिए । ती बाजा बजाउने व्यक्तिले सुनको बर मागेछन् । भगवानले छहराको गुफाबाट हातमा हटाउने जति सुन लैजान आर्शिवाद दिए पनि ती व्यक्तिले धेरै निकाल्न खोज्दा बाढी आएर बगाएको र पछि त्यसको नाम सुनछहरा रहन गएको बुढापाकाले बताउँछन् ।

    छहराभित्र रहेको गुफाको भित्ताहरू पहेलो रंगको भएकाले पनि त्यसलाई सुनछहरा भन्ने गरिएको रघुगंगा गाउँपालिका–७ चिमखोलाका वडा अध्यक्ष थकबहादुर पाइजा (रिम)ले बताए । विभिन्न देवीदेवता र जनावरको आकृति देखिने छहराको भित्र रहेको गुफामा हिर्काउदा बाजाको आवाज सुनिन्छ ।

    धौलागिरि आधार शिविर पुग्ने पदमार्ग बनाउन थालिएको र सुनछहरा जाने पदमार्ग तथा बाटोमा पर्ने रघुगंगा नदीमा झोलुंगे पुल बनाउन पहल गरेको वडा अध्यक्ष पाइजाले बताए ।

    हिउँदयाममा चिसोले छहराको पानी जमेर हिउँमा परिणत भएको हेर्न पाउनु सुनछहराको थप विशेषता हो । छहरा करिब १५ मिटर अग्लो छ भने त्यहाँभित्र करिब पाँच मिटर लामो गुफा छ । सुनछहरामा पुगेर दर्शन तथा पूजाआजा गरेमा मनोकांक्षा पुरा हुने जनविश्वास छ ।

    बेनीदेखि चिमखोला हुदै सुगुरथला सम्म चार घण्टा सवारी साधनको यात्रा पछि पुगिन्छ। सुगरथलादेखि थप एक दिन यात्रा गरेपछि पुगिने सुनछहरामा यार्सा संकलन गर्ने स्थानीयहरू वैशाख जेठ महिनामा बास बस्ने गर्दछन् । सुगुरथलासम्म मात्र होटल तथा रेष्टुरेन्टको सुविधा छ । सुगरथलाभन्दा माथि आफै बन्दोबस्तीको सामान लिएर जानुपर्छ ।

    पोखराका पर्यटन व्यवसायी तारा गर्बुजाले सुनछहरा पुग्ने व्यवस्थित पदमार्ग र झोलुंगे पुल बनाउन सकेमा पर्यटकलाई सहज हुने बताए । झोलुंगे पुल नहुँदा राहुघाट वारपार गर्न जङघार तर्नुपर्छ। बर्खा याममा खोलाबाट वारपार गर्न सकिँदैन ।

    पदमार्ग नहुँदा भिरमा जोखिम मोलेर यात्रा गर्नुपर्छ । नक्सा बनाउने र संकेत चिह्नहरु पनि राख्नुपर्ने अध्ययन टोलीमा गएका सुरेन गुरूङले बताए। सुनछहरा हुँदै रिखार, धौलागिरि आधार शिविरको अस्ट्रेलिन क्याम्प, कालीबराह र मुस्ताङ पनि जान सकिन्छ । बाटो चिनेका गोठाला बाहेक अरूसँग यात्रा गर्दा हराउने जोखिम छ । रासस

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend