logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:26 AM

  • नेपालमा पहिलो पटक क्यानोनिङ उत्सव हुँदै

    नेपालमा पहिलो पटक क्यानोनिङ उत्सव हुँदै


    पर्यटन नेपाल

    बिहिबार, १५ फाल्गुन २०८१


    काठमाडौँ । नेपालमा पहिलोपटक क्यानोनिङ उत्सव हुने भएको छ ।

    सिन्धुपाल्चोकको गातीस्थित बोर्डरल्याण्डमा यही फागुन १६ देखि १८ सम्म तीनदिने क्यानोनिङ उत्सव हुने भएको हो ।

    बोर्डरल्याण्ड इको रिसोर्टले आयोजना गर्न लागेको यो उत्सव विशेषगरी साहसिक खेलमा रुचि राख्ने नेपालीहरूलाई लक्षित गरिएको छ ।

    पर्वतारोहण, पदयात्रा, र्याफ्टिङ, प्याराग्लाइडिङ, माउन्टेन बाइकिङ तथा मह संकलनजस्ता रोमाञ्चक गतिविधिहरू समेटिएको क्यानोनिङ उत्सव साहसिक पर्यटकहरूको आकर्षण बन्ने अपेक्षा गरिएको छ ।

    नेपालमा क्यानोनिङका लागि विभिन्न स्थानहरू प्रसिद्ध छन् । जसमध्ये काठमाडौंको सुन्दरीजल, सिन्धुपाल्चोकको पुरानो जम्बो, पोखरा र चितवनको जलबिरे प्रमुख हुन् । नेपाल नदी संरक्षण (एनआरसिटी)का अध्यक्ष तथा कर्णाली रिभर वाटरकिपरसमेत रहेका बोर्डरल्याण्ड इको रिसोर्टका सञ्चालक मेघ आले उत्सवका क्रममा सञ्चालन गरिने विभिन्न साहसिक खेलहरुमा सहभागीहरुको सुरक्षालाई प्राथमिकतामा राखिएको बताए ।

    ‘क्यानोनिङ गर्दा पानीको बहाव, भौगोलिक स्थिति र खेलाडीहरूको सुरक्षामा विशेष ध्यान दिएका छौं । वसन्त ऋतुमा नेपालमै पहिलोपटक व्यापक कार्यक्रमसहित क्यानोनिङ उत्सव अयोजना गर्दै छौं,’ उनले भने ।

    नेपालका नौ वटा क्यानोनिङ गर्न मिल्ने झरनाहरु सिन्धुपाल्चोकमा रहेको उनले बताए । यी झरनालाई प्रवद्र्धन गर्न महोत्सव आयोजना गर्न लागिएको उनको भनाइ छ । ‘यो उत्सवमा करिब डेढ सयदेखि २०० को हाराहारीमा आन्तरिक पर्यटकहरुको सहभागिता रहने अपेक्षा लिएका छौं,’ आलेले भने ।

    उनका अनुसार नेपालमा साहसिक खेलहरू दिनप्रतिदिन लोकप्रिय बन्दै गइरहेका छन् । साहसिक खेलप्रेमीहरूका लागि पर्वतारोहण, पदयात्रा, र्याफ्टिङ मात्र नभई क्यानोनिङ पनि आकर्षक गन्तव्य बन्दै गएको उनको अनुभव छ । यसमा आन्तरिक तथा बाह्य पर्यटकहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ । ‘साहसिक खेलप्रति बढ्दो आकर्षणले आगामी दिनमा यस क्षेत्र अझै व्यावसायिक हुने आशा जगाएको छ,’ आलेको भनाइ छ ।

    नेपालमा क्यानोनिङको व्यवसायिक यात्रा सन् १९९६ मा सुरु भएको इतिहास छ । फ्रान्सबाट सुरु भएको क्यानोनिङ वाटरकिपर एवं बोर्डरल्याण्डका सञ्चालक आलेले अस्ट्रियामा तालिम लिएर नेपालमा भित्र्याएका हुन् ।

    प्रारम्भमा विदेशी प्रशिक्षकहरूमार्फत सिकाइएको यो खेल अहिले नेपाली साहसिक खेलाडीहरूमाझ लोकप्रिय बन्दै गएको छ । कार्यक्रम निर्देशक मदन मगरका अनुसार र्याफ्टिङ गर्दा वाक्क हुनेहरूका लागि क्यानोनिङ उत्कृष्ट विकल्प हुन सक्छ ।

    डोरीको नट र पौडिन चाहनेहरुका लागि यो खेल रोमाञ्चकमात्र नभई सुरक्षितसमेत हुने उनी बताउँछन् । सुरुआतमा विदेशी पर्यटकहरूको मात्र रुचि रहेको क्यानोनिङ अहिले नेपालीहरूमा पनि आकर्षण बढ्दै गएको मगरको भनाइ छ ।

    यसलाई नेपाल क्यानोनिङ एसोसिएसनले व्यवस्थित गर्दै व्यावसायिक बनाउने प्रयास गरिरहेको उनले बताए । निर्देशक मगरले यस कार्यक्रमका लागि १० देखि १५ जना क्यानोनिङ गाइड तथा २५ जना स्वयंसेवक खटाइने जानकारी दिए ।

    कार्यक्रममा सहभागीहरुलाई पूर्ण मनोरञ्जनको प्याकेज उपलब्ध गराइने आयोजकको प्रतिबद्धता छ । ‘सहभागी हुन चाहनेले बोर्डरल्याण्ड इको रिसोर्टको फेसबुक पेज, इन्स्टाग्रामको पेज वा नयाँ बजार र ठमेलमा रहेको कार्यालयमा नाम दर्ता गराउन सक्नुहुने छ,’ निर्देशक मगरले भने ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend