logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   06:58 AM

  • पर्यटकले भरिभराउ विश्वकै दोस्रो अग्लो कुश्माको बञ्जीजम्पलगायतका क्षेत्र

    पर्यटकले भरिभराउ विश्वकै दोस्रो अग्लो कुश्माको बञ्जीजम्पलगायतका क्षेत्र


    पर्यटन नेपाल

    आइतबार, १२ कार्तिक २०८०


    पर्वत । दशैँ सकिए लगतै देशभरि आन्तरिक पर्यटकले हरेक पर्यटन क्षेत्र भरिभराउ भएका छन् । दशैँ तिहारको छुट्टीमा पर्यटकहरू घुम्न गइरहेका छन् । त्यस्तै पछिल्लो समय साहसिक पर्यटकीय पूर्वाधार बढेसँगै पर्वतमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण ह्वात्तै बढेको छ ।

    कुश्माबजारमा बनेको विश्वकै दोस्रो अग्लो बञ्जीजम्प, विश्वकै दोस्रो लामो सुपर म्यान शैलीको जीपलाइन, नेपालकै अग्ला र लामा झोलुङ्गे पुलले आन्तरिक पर्यटकलाई आकर्षित गरेको हो ।

    विभिन्न सङ्घसंस्थाका अवलोकन भ्रमणका गन्तव्यसमेत पर्वत सदरमुकाम कुस्मा बन्दै गएका छन् । नेपालीको सांस्कृतिक पर्वमध्येको ठुलो पर्व बडादसैँ सकिएसँगै पर्यटकको चहलपहल बढ्न थालेको हो । दसैँ तिहारजस्ता चाडबाडका कारण पनि पर्यटक बढी भित्रिएका हुन् ।

    सरकारी वा सार्वजनिक बिदालाई पछिल्लो समय नेपालीले घुमघाम र मनोरञ्जन लिएर बिताउन थालेका छन् । हिउँदयामसमेत सुरु भएकाले पर्वत सदरमुकाममा दैनिक हजारौँको सङ्ख्यामा आन्तरिक पर्यटक भित्रिने गरेका छन् ।

    विगतका वर्षमा आन्तरिक पर्यटक मात्र आउने कुश्माका पर्यटकीय स्थलमा पछिल्लो समय बाह्य पर्यटकको सङ्ख्यासमेत बाक्लिन थालेको होटेल ड्रागनका सञ्चालक सुरेश केसीले जानकारी दिए ।

    पर्यटकको सङ्ख्या बढेसँगै कुश्माबजारका होटेल भरिभराउ हुन थालेका छन् । पर्यटकीय पूर्वाधार बढेसँगै कुश्माबजारमा सुविधा सम्पन्न होटेलसमेत थपिन थालेका छन् ।

    सोह्र श्राद्ध, बडादसैँलगायतका कारण हिमालपारिको जिल्ला मुस्ताङको कागबेनीमा श्राद्ध गर्न जाने तथा उपल्लो मुस्ताङ र कोरल्ला नाकामा घुम्न जाने आन्तरिक तथा बाह्य पर्यटकका कारण पनि पर्वत सदरमुकाममा चहलपहल बढ्न थालेको हो ।

    मुस्ताङ जाने दर्शनार्थी र अन्य पर्यटकले जाने बेलामा र फर्किने बेलामा बास बस्नका लागि होटेल बुकिङ गर्ने गरेको होटेल बन्दनाका सञ्चालक कृष्णप्रसाद श्रेष्ठले जानकारी दिए ।

    उनका अनुसार नेपालका चितवन, विराटनगर, हेटौँडा, दोलखा, नेपालगञ्ज, बर्दिया, दाङ, बुटवल, कपिलवस्तुलगायतका क्षेत्रबाट शैक्षिक सङ्घसंस्था, सहकारी संस्था, विभिन्न सामुदायिक सङ्घ संस्थाको शैक्षिक तथा अवलोकन भ्रमणका लागि यस क्षेत्रमा आउने क्रम बढ्दो रहेको उनले बताए ।

    कतिपयले पर्वतलाई गन्तव्य बनाउने गरेका छन् भने कतिपय बागलुङ म्याग्दी तर्फसमेत जाने गरेको होटेल व्यवसायीको भनाइ छ । पछिल्ला केही दिनयता सदरमुकामका सुविधा सम्पन्न मानिने वन्दना, बेन्जु, माउन्टेन भ्यु, फ्रेण्डली, धौलागिरि, मुस्ताङ, ओरियन्ट, ड्रागनलगायतका होटेल भरिभराउ रहेको सञ्चालकले बताएका छन् ।

    यता बञ्जीजम्प र जीपलाइनमासमेत एक हप्ताअघिदेखि नै टिकट बुक भइरहेको सञ्चालकले बताएका छन् । अन्य दिनभन्दा शुक्रवार र शनिवार तथा सार्वजनिक बिदाका दिनमा पर्यटकको चाप बढी हुने गरेको भए पनि यति बेला लामो सरकारी बिदा भएकाले नियमित जसो भिडभाड हुन थालेको छ ।

    यस वर्षदेखि बाह्य पर्यटकसमेत उल्लेख्य मात्रामा आउन थालेको द क्लिफका सञ्चालक राजु कार्कीले बताए । दैनिक एक सयभन्दा बढीले बञ्जी तथा स्वीङ गर्ने गरेको र त्यसकै हाराहारीमा पिङ, रकक्लाइम्बिङ, साइकलिङ गर्ने गरेको कार्कीको भनाइ छ ।

    पर्यटकको चहलपहलसँगै कुस्मा बजार नजिकै कालीगण्डकी नदीको सानो बगरमा झन्डै २० करोड लगानीको एड्भाञ्चर रिपोर्टसमेत बिहीबारदेखि सञ्चालनमा आएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend