logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:26 AM

  • नेपाल राष्ट्र बैंकले मनायो ७० औं वार्षिकोत्सव

    नेपाल राष्ट्र बैंकले मनायो ७० औं वार्षिकोत्सव


    पर्यटन नेपाल

    आइतबार, १४ बैशाख २०८२


    काठमाडौँ । नेपाल राष्ट्र बैंकले आफ्नो ७० औं वार्षिकोत्सव मनाएको छ ।

    बैंकको आफ्नो केन्द्रीय कार्यालय बालुवाटारमा आइतबार एक विशेष कार्यक्रम आयोजना गरेर आफ्नो ७० औं वार्षिकोत्सव मनाएको हो ।

    २०१३ साल बैशाख १४ गते स्थापना भएको राष्ट्र बैंकले ७० औं वार्षिकोत्सवको अवसरमा पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्रीलाई सम्मान गरेको छ ।

    हरेक वर्ष पूर्व गभर्नर मध्येबाट एक जनालाई सम्मान गर्ने परम्परा बमोजिम यस वर्ष क्षेत्रीलाई सम्मान गरिएको हो ।

    वार्षिकोत्सवमा उत्कृष्ट कर्मचारीलाई सम्मान र २० वर्ष पूरा गरेका कर्मचारीलाई दीर्घ सेवा पदक प्रदान समेत गरिएको थियो ।

    सम्मानित पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले नेपालको आर्थिक तथा वित्तीय क्षेत्रको सम्भावना र चुनौतीको सम्बन्धमा आफ्नो धारणा राखेका थिए ।

    त्यस्तै कायमुकायम गभर्नर ढुंगानाले विगत २ वर्षदेखि घट्दै गएको वस्तु निर्यात र आयात चालू आर्थिक वर्षको कात्तिकदेखि बढ्न थालेको बताइन् ।

    उनले भनिन्, ‘विगत २ वर्षदेखि घट्दै गएको वस्तु निर्यात र आयात चालू आर्थिक वर्षको कात्तिकदेखि बढ्न थालेको छ । हाम्रो वित्तीय पहुँच सुधार भएको छ । अर्थतन्त्र बिस्तारै लयमा आउन थालेको छ । आयात तथा निर्यात व्यापारमा सुधार भएको छ । बैंकिङ क्षेत्रबाट प्रभावित कर्जा विस्तारले समेत गति लिन थालेको छ । पछिल्लो समय भएका कानूनी सुधारहरूले लगानीको वातावरण सहज बनाएको छ । यसले समग्र आर्थिक गतिविधिलाई थप चलायमान बनाउने अपेक्षा गरिएको छ । नेपालको बाह्य क्षेत्र सफल हुँदै गएको छ । चालू आर्थिक वर्षबाट सबै स्थानीय तहमा बैंकको शाखा कार्यालय पुगेका छन्, राष्ट्र बैंकले आवश्यक विभिन्न क्षेत्रमा सहुलियतपूर्ण नीति अवलम्बन गर्दै आएको छ । पछिल्लो समय विश्व अर्थतन्त्रमा विभिन्न नयाँ आयामहरू देखापरेका छन् । खासगरी विगत लामो समयदेखि युरोप तथा मध्यपूर्वमा जारी भूराजनीतिक तनाव एवं पछिल्लो समयमा वैदेशिक व्यापार नीतिमा आएको परिवर्तन विश्व अर्थतन्त्रमा थप अनिश्चितता बढेको छ । पुँजीगत खर्चको लागि भन्दा छुट्याएको बजेटभन्दा वित्तीय खर्चमा छुट्याइएको बजेट धेरै छ । सस्तो लोकप्रियता र छोटो फाइदालाई मात्र हेरेर अगाडि बढ्दा हामी समस्यामा परेका छौं । अर्थतन्त्रको सवालमा राज्य नियामक सबै संवेदनशील हुन आवश्यक छ । वित्तीय क्षेत्र सुधार, साक्षरतामा काम गर्दै गएमा वित्तीय अपराध हुने स्थिति हामी कम गर्न सक्छौं ।’

    त्यस्तै कर्मचारी युनियनहरूले सरकारले समयमै गभर्नर नियुक्ति गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका थिए ।

    नेपाल राष्ट्र बैंक कर्मचारी संघका अध्यक्ष हरिकृष्ण भट्टराईले राष्ट्र बैंकको साख कमजोर बनाउँदै जाने भन्दै चिन्ता व्यक्त गरेका थिए ।

    त्यस्तै नेपाल राष्ट्र बैंक कर्मचारी संघकी अध्यक्ष गीता पोखरेलले राष्ट्र बैंकका कर्मचारीहरूले आन्तरिक समस्यालाई सार्वजनिक मिडियामा पोख्नुभन्दा अघि आन्तरिक रुपमा छलफल गरेर टुंग्याउनुपर्ने बताइन् ।

    यसपटक नेपाल राष्ट्र बैंकले पूर्णकालीन नेतृत्व बिना नै वार्षिकोत्सव मनाएको हो ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend