काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका कर्मचारीहरु नै मानव तस्करीमा लागेको भेटिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक महिना अघिदेखि नै विमानस्थलको अध्यागमन कार्यालयमा अनुसन्धान गरिरहेको थियो ।
एक महिना लामो अनुसन्धानपछि आयोगले बुधबार अध्यागमन कार्यालयमा छापा मार्दा सो कार्यालयका कर्मचारीहरु नै मानव तस्करीमा संलग्न रहेको भेटिएको हो ।
आयोगले विमानस्थलमा कर्मचारीकै सेटिङमा मानव तस्कर भइरहेको भेटेको हो ।
विमानस्थलमा अध्यागमनका कर्मचारीहरुको सेटिङमा डेढ वर्ष यतादेखि नै मानव तस्करी भइरहेको थियो ।
अध्यागमन प्रमुख सहसचिव तीर्थराज भट्टराईले गिरोहसँग लेनदेन गर्ने गरेको पाइएको छ । आयोगले थालेको अनुसन्धानमा सह सचिव भट्टराईले लेनदेन गरेको केही आधारहरु फेला परेपछि उनलाई बुधबार नियन्त्रणमा लिइएको थियो । नियन्त्रणमा लिएकाे केहि समयको केरकारपछि उनलाई छोडिएको थियो ।
भिजिट भिसामा विदेश जान चाहने युवाहरूलाई पास गराए वापत देश अनुसारको पैसा असुल गर्ने गरिएको थियो ।
भिजिट भिसामा यूएई, साउदी अरब जाने प्रतिव्यक्तिबाट ५० देखि ७५ हजार रुपैयाँ र यूरोप जाने प्रतिव्यक्तिबाट ३ देखि ४ लाख रुपैयाँसम्म लिने गरेको पाइएको छ ।
यो रकम संकलन गर्ने सेटिङमा कर्मचारीको एउटा ठुुलै समूह नै संलग्न छ ।
पहिला नै भष्टाचारको मुद्दा खेपिसकेका सहसचिव भट्टराईलाई विमानस्थल अध्यागमन जस्तो संवेदनशील क्षेत्रमा किन पोस्टिङ गराइयो ?
उनीमाथि करिब एक दशकअघि नै अदालतमा भ्रष्टाचार मुद्दा परेको थियो । आफुमाथि भ्रष्टाचारको मुद्दा परेपछि केही समय उनी जागिरबाट बाहिरै बसे ।
२०७२ साल माघ १९ गते भूकम्पपीडितलाई बाँड्न त्रिपाल खरिद गर्दा अनियमितता गरेको आरोपमा उनीसहित ६ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो ।
पछि विशेष अदालतले उनलाई सफाइ दियो । पुन निजामतीमा फर्किएपछि उनी आन्तरिक प्रतिष्पर्धाबाट २०७७ सालमा सहसचिव बढुवा भएका थिए ।
आयोगका अनुसार भट्टराईको मोबाइल फोनबाट मानव तस्कर गिरोहसँग संलग्नताबारे प्रमाणहरू खुल्न सक्ने आशंका गरिएको छ ।
अनुसन्धानमा साउदी, यूएई र कुवेत जाने महिलालाई ‘एल’ र पुरुषलाई ‘एस’ कोड दिएर अध्यागन जाँच पार गराउने गरेको खुलेको छ ।