काठमाडौँ। पाँचौ संस्करकरणको हिमालयन ट्राभल मार्ट हुने भएको छ ।
नेपाल पर्यटन बोर्डको सहकार्यमा प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा नेपाल) ले जेठ २० गतेदेखि २३ गतेसम्म सोल्टी होटेलमा कार्यक्रम गर्न लागेको हो ।
पाटाले आयोजना गरेको सो कार्यक्रममा विभिन्न १२० देशका अतिथिलाई निमन्त्रणा गरिएको छ ।
सोमबार राजधानीमा पत्रकार सम्मेलन गरेर पाटा नेपालले सो कार्यक्रममा ७०० स्वदेशी तथा विदेशी अतिथि सहभागि हुने बताएको छ ।
पाटा नेपालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेश बुडालले सो कार्यक्रममा करिब ५ करोड रुपैयाँ खर्च अनुमान गरिएको बताए ।
यो खर्च मध्धे पर्यटन बोर्डले एक करोड सहयोग गर्ने र बाँकी निजी क्षेत्रले गर्ने भएको छ ।
सिइओ बुडालका अनुसार नेपालको पर्यटन प्रवर्द्धनका लागि अन्तर्राष्ट्रिय मिडियादेखि भ्लगरसम्मलाई निमन्त्रणा गरिएको छ ।
मार्टमा आउने र विशेष महत्व भएका बिटुबीका लागि भने पाटाले हवाई टिकटदेखि नेपाल बसाइसम्म सहजीकरण गरेर निम्ता गरेको छ ।
पर्यटन बोर्डको सहकार्य र निजी क्षेत्रको समर्थनमा पाटाले आयोजना गरेको यस कार्यक्रममा अन्तर्राष्ट्रिय ट्राभल व्यवसायीको आगमनले नेपालको पर्यटन व्यवसाय प्रवर्द्धन हुने अपेक्षा राखिएको छ ।