काठमाडौँ । पछिल्लो समय बागलुङमा नयाँ नयाँ पर्यटकीय ठाउँ चर्चामा आउन थालेका छन् । पहिले नै चर्चित रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रमा पनि पर्यटकको सङ्ख्या झन्डै दोब्बरले वृद्धि भएको पाइन्छ ।
जिल्ला सदरमुकाम बागलुङ बजार आसपासदेखि दूर दराजमा रहेका गन्तव्यमा आधारभूत पर्यटन पूर्वाधार बनी नसक्दा पनि पर्यटकको रोजाइमा पर्न थालेका छन् ।
नयाँ पहिचान भएका पर्यटकीय क्षेत्रमध्ये केहीमा मोटर बाटो, केहीमा पदमार्ग पुगेको छ भने कतिपयमा अहिलेसम्म सामान्य गोरेटो बाटोसमेत बनेका छैनन् । यद्यपि आन्तरिक पर्यटक बाटो बनाउँदै गन्तव्यसम्म पुग्ने गरेका छन् ।
बागलुङ बजार नजिकै रहेको भिर लाँकुरी, निसीखोलाको टाकुरा, तमानखोलाको बराह ताल, नेवारे झरना, नौ बहिनी झरना, ढोरपाटनको जलजलालगायतका ठाउँ पछिल्लो समय चर्चामा आउन थालेका छन् । यी पर्यटकीय ठाउँमध्ये अधिकांशमा अहिले पनि पूर्वाधार बन्न सकेका छैनन् । पर्यटनका हिसाबले बागलुङले सम्भावना बोकेको छ, तर प्रचार–प्रसार र आवश्यक पूर्वाधार निर्माण ढिलाइ गर्दा सोचेअनुसार पर्यटक भित्र्याउन सकेको छैन । तीन राष्ट्रिय सडकले जोडिएको बागलुङले बाह्य पर्यटक भने निकै कम मात्रामा भित्र्याउने गरेको छ ।
ढोरपाटन सिकार आरक्षबाहेक अन्य ठाउँमा विदेशी पर्यटक आएको खासै पाइँदैन । पछिल्लो समय बागलुङ र पर्वत जोड्ने नेपालकै लामो झोलुङ्गे पुलमा फाट्टफुट्ट बाह्य पर्यटक देख्न थालिएको छ ।
राष्ट्रिय गौरवको आयोजना मध्य पहाडी लोक मार्गले पूर्व–पश्चिम, कालीगण्डकी करिडोरले चीन–भारत र सालझण्डी–ढोरपाटनले तराई–पहाडलाई जोडेको छ । विगतका वर्षमा भन्दा यस वर्ष पर्यटन यामको सुरुआतमै उल्लेख्य पर्यटक बागलुङमा भित्रिएको र नयाँ ठाउँमा पुग्न थालेको पर्यटन विकास समिति बागलुङका अध्यक्ष राजु खड्काले बताए ।
पहिलेको तुलनामा पछिल्लो समय घुमफिर गर्ने संस्कृति बढ्दै जाँदा ओझेलमा रहेका पर्यटकीय ठाउँ चर्चामा आउन थालेको उनको भनाइ छ ।
केही वर्ष अगाडिसम्म पर्यटकीय सम्भावना बोकेका ठाउँमा पुगे पनि त्यसलाई कसैले पनि बाहिर नल्याएको भन्दै अहिले पुग्ने हरेक व्यक्तिले फोटो र भिडियो खिचेर सामाजिक सञ्जालमा राख्न थालेपछि धेरै ठाउँ चर्चित बन्दै गएको उनको भनाइ छ ।
नयाँ गन्तव्यलाई थप व्यवस्थित बनाएर प्रचार–प्रसार गरी पर्यटक भित्र्याउनका लागि स्थानीय सरकारले ध्यान दिनुपर्ने अध्यक्ष खड्का बताउँछन् । ‘सामाजिक सञ्जालले पनि धेरै ओझेलमा रहेका ठाउँलाई बाहिर ल्याउन मद्दत गर्नुका साथै धेरै आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन मद्दत पुगेको छ,’ उनले भने ।
बजार नजिकै भए पनि भिर लाँकुरी अघिल्लो वर्षसम्म गुनामनै थियो तर अहिले दैनिक एक सयको हाराहारीमा पर्यटक पुग्ने गरेको पाइन्छ । बागलुङ बजारबाट हिँडेर करिब ४५ मिनेटमा पुग्न सकिने हुँदा धेरै मान्छे भिर लाँकुरी आउन थालेको स्थानीय सृष्टि आचार्यको भनाइ छ ।
यहाँबाट बागलुङ बजारसहित थुप्रै हिमशृङ्खला एकै पटक अवलोकन गर्न सकिने हुँदा आन्तरिक पर्यटक आउन थालेको उनले बताए । धेरैजसो पदयात्रामार्फत भिर लाँकुरी पुग्ने गरेको उनी बताउँछन् ।
आचार्यले भने, ‘यो ठाउँ पहिला सुनसान, स्थानीयले घाँस काट्ने ठाउँ थियो, तर अहिले हरेक दिन मान्छे आउन थालेपछि चहलपहल बढेको छ, यस्तो ठाउँ पर्यटकीय गन्तव्य होला भन्ने कसैले पनि सोचेका थिएनौँ, अहिले ‘ट्रेकिङ’ गर्नेहरूका लागि यो ठाउँ उपयुक्त बनेको छ, बिदाको दिन अझ बढी पर्यटक आउने गरेका छन् ।’
नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन उपत्यकाको पूर्वपट्टि पर्छ जलजला । यहाँ पनि पछिल्लो समय धेरै पर्यटक पुग्ने गरेको स्थानीय वीरबहादुर घर्तीले बताए । पहिले–पहिले जलजलामा पर्यटक पुग्ने गरे पनि गत वर्षदेखि अझ बढी जान थालेको उनको भनाइ छ ।
ढोरपाटन उपत्यकाबाट पाखा थर, छेन्तुङगाउँ हुँदै जलजला पुग्ने पर्यटकलाई मोटर बाटोले थप सहज बनाएको उनले बताए । खाने र बस्ने सुविधाका लागि होटेल तथा रेस्टुरेन्ट बढ्दै गएपछि पर्यटक बढेको घर्ती बताउँछन् ।
‘धेरै पर्यटक ढोरबराह मन्दिर र खापाथरसम्म आएर मात्रै फर्किन्थे, तर अहिले टाढा–टाढा पुग्ने गरेका छन्, पर्यटक आउन थालेसँगै होटेल व्यवसाय पनि राम्रो हुँदै गएको छ, पहिले जनैपूर्णिमाका बेला मात्रै पर्यटक ढोरपाटन आउँथे, तर अहिले बाह्रै महिना आउने गरेका छन्’, उनले भने, ‘जलजला पुग्न समस्या छैन, सडक बनेको छ, ठाउँ–ठाउँमा गोठ छन्, वरपर जङ्गल र डाँडाकाँडाले पर्यटकलाई आकर्षित गरेको छ, बर्खामा यहाँ थुप्रै गोठ बस्ने गर्छन् ।’
चर्चित भएर पनि ओझेलमा
बागलुङका धेरै चर्चित गन्तव्यमा आधारभूत पूर्वाधार निर्माण नहुँदा ओझेलमा परेका छन् । जिल्लाको मुख्य पर्यटकीय गन्तव्य मानिने गाजाको दह, सहस्र धारा झरना, अर्नाकोट, बराह ताल, बुद्ध हिललगायतका दर्जन बढी ठाउँमा निकै कम पर्यटक पुग्ने गरेका छन् ।
हाँसम्म पुग्ने सडक तथा पैदल मार्ग सहज नहुँदा पर्यटक कम जाने गरेको पर्यटन विकास समिति बागलुङका अध्यक्ष खड्का बताउँछन् । मुख्य सडकमै पर्ने गाजाको दहसम्म पुग्ने सडकको अवस्था निकै जोखिमपूर्ण र अप्ठ्यारो हुँदा ओझेलमा परेको उनको भनाइ छ ।
स्थानीय तुलबहादुर थापाले बागलुङ बजारबाट करिब दुई घण्टा गाडीको यात्रामा पुग्न सकिने गाजाको दह निकै सुन्दर भए पनि पर्यटक कम आएको बताए । पर्यटकले सहजता बढी खोज्ने हुँदा गाजाको दह ओझेलमा परेको उनी बताउँछन् ।
पहिले कहिलेकाहीँ पैदल यात्रामार्फत विदेशी पर्यटक पुग्ने गरे पनि अहिले सुनसानजस्तै रहेको थापाको भनाइ छ । पर्यटक भित्र्याउनका लागि सरोकारवाला निकायको ध्यान जान जरुरी रहेको उनले जानकारी दिए ।
तमानखोलाको बराह ताल जिल्लाकै उच्च स्थानमा रहेको छ । यहाँसम्म पुग्ने सहज माध्यम नहुँदा पर्यटक कम मात्रामा जाने गरेका छन् ।
पर्यटकको सहजताका लागि तमानखोला गाउँपालिकाले यस वर्ष मोटर बाटो निर्माण गरेको छ । मोटर बाटोको स्तरोन्नतिपछि मात्रै तालमा पर्यटक पुग्ने अपेक्षा लिइएको छ ।