logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:28 AM

  • पर्यटन र सूचना प्रविधि क्षेत्रकाे चुनौतीको मूल्याङ्कन र दीर्घकालीन सहकार्य गर्ने पर्यटन बोर्ड र सफ्टवेयर/आईटी कम्पनीकाे उद्देश्य

    पर्यटन र सूचना प्रविधि क्षेत्रकाे चुनौतीको मूल्याङ्कन र दीर्घकालीन सहकार्य गर्ने पर्यटन बोर्ड र सफ्टवेयर/आईटी कम्पनीकाे उद्देश्य

    पर्यटन बोर्ड र नेपाल एसोसिएशन फर सफ्टवेयर एण्ड आईटी सर्भिस कम्पनीजको ब्रिजिङ टुरिज्म एण्ड आईटी टुवार्ड्स अ कमन अन्डरस्ट्यान्डिङ कार्यक्रम सम्पन्न


    पर्यटन नेपाल

    शनिबार, २४ साउन २०८२


    • काठमाडौँ । नेपाल पर्यटन बोर्ड र नेपाल एसोसिएशन फर सफ्टवेयर एण्ड आईटी सर्भिस कम्पनीजको संयुक्त आयोजनामा शुक्रबार ब्रिजिङ टुरिज्म एण्ड आईटी: टुवार्ड्स अ कमन अन्डरस्ट्यान्डिङ” शीर्षकको कार्यशाला सम्पन्न भएको छ। बोर्डको सभाहलमा आयोजित उक्त कार्यक्रममा पर्यटन र सूचना प्रविधि क्षेत्रबीचको संवाद सुदृढ गर्दै साझा अवसरको पहिचान, क्षेत्रगत चुनौतीको मूल्याङ्कन र दीर्घकालीन सहकार्यको आधार तयार गर्ने उद्देश्य राखिएको थियो ।

    कार्यक्रमको उद्घाटन गर्दै नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक राज जोशीले कोभिड-१९ पछि नेपालको पर्यटन क्षेत्र क्रमशः सुधारतर्फ उन्मुख भए पनि अझै पूर्व–कोभिड स्तरभन्दा तल रहेको बताए। उनले भने,“हामीले नेपालभित्र माग सिर्जना गर्ने प्रयास गरेका छौं, अब विश्व बजारमा प्रभावकारी प्रचार-प्रसारका लागि सूचना प्रविधि क्षेत्रसँगको सहकार्य अपरिहार्य छ। डिजिटल इन्टिग्रेसनमार्फत नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा ल्याउनसकिन्छ।”

    बोर्डका वरिष्ठ प्रबन्धक अर्चना केसीले अतिथिहरुलाई स्वागत गर्दै आईटीको प्रयोगमार्फत् बोर्डले हालसम्म प्राप्त उपलब्धिको बारेमा जानकारी गराएकी हुन् ।

    कार्यक्रममा ‘डिजिटल होराइजन स् एलिभेटिङ नेपाल टुरिज्म’ विषयमा बोर्डका वरिष्ठ अधिकृत सुधन सुवेदीले कार्यपत्र प्रस्तुत गर्दै पर्यटन प्रवर्द्धन, उत्पादन विविधीकरण र पर्यटकको अनुभव अभिवृद्धिमा प्रविधि–आधारित समाधानको खाका पेश गरेका हुन् । यस्तै एनएसआइटीका उपाध्यक्ष गौरव पाण्डेले नेपालको आईटी क्षमता प्रयोग गरेर पर्यटन मूल्य शृङ्खला सुदृढ गर्ने उपायहरूबारे प्रस्तुति दिए ।
    पाण्डेले भने, ‘अहिलेसम्मको स्थिती पूर्व-कोभिड अवधिभन्दा तल छ। हामीसँग बजार विस्तारका लागि पर्याप्त प्रचार–प्रसारको कमी छ ।’

    सहभागीहरूले डिजिटल मार्केटिङ, स्मार्ट टुरिज्म समाधान, अनलाइन बुकिङ प्लेटफर्म विकास र गन्तव्य व्यवस्थापनका लागि डाटा एनालिटिक्स जस्ता क्षेत्रमा सहकार्य गर्नुपर्ने धारणा राखे । कार्यशाला दीर्घकालीन कार्ययोजना तयार गर्ने प्रतिबद्धतासहित सम्पन्न भएको बोर्डले जनाएको छ ।

    नेपाल पर्यटन बोर्डका अनुसार, यो पहल नेपालको पर्यटन क्षेत्रलाई डिजिटल रूपान्तरणमार्फत आधुनिक र पहुँचयोग्य बनाउनको लागि लिइएको दीर्घकालीन रणनीतिक कदम हो, जसले मुलुकलाई विश्वका यात्रुका लागि अझ आकर्षक गन्तव्यका रूपमा प्रस्तुत गर्नेछ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend