logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:24 AM

  • अमेरिकन चेम्बर अफ कमर्स (एमच्याम नेपाल) द्वारा नेपालमा शान्ति, स्थिरता र आर्थिक सुधारको आह्वान

    अमेरिकन चेम्बर अफ कमर्स (एमच्याम नेपाल) द्वारा नेपालमा शान्ति, स्थिरता र आर्थिक सुधारको आह्वान


    पर्यटन नेपाल

    आइतबार, २९ भाद्र २०८२


    काठमाडौँ । अमेरिकन चेम्बर अफ कमर्स नेपाल (एमच्याम नेपाल) ले अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीलाई पदभार ग्रहणको अवसरमा बधाई दिँदै नेपालमा शान्ति, स्थिरता र आर्थिक सुधारका लागि सहकार्य गर्न तयार रहेको जनाएको छ ।

    एक विज्ञप्ति जारी गर्दै एमच्याम नेपालले नेपालको लोकतान्त्रिक र आर्थिक यात्राको यस महत्वपूर्ण चरणमा प्रधानमन्त्री कार्कीको नेतृत्वमा मुलुक स्थिरतासँगै दिगो आर्थिक वृद्धिको दिशामा अघि बढ्ने विश्वास व्यक्त गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘हामी स्थिरता, समावेशी वृद्धि र साझा समृद्धि प्रवर्द्धनका लागि अन्तरिम सरकारसँग नजिकको सहकार्य गर्न इच्छुक छौं ।’

    हालैको घटनामा ज्यान गुमाएका ५१ जनाप्रति गहिरो समवेदना प्रकट गर्दै संगठनले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । ‘शान्त र स्थिर नेपाल आर्थिक विकास र सबैको साझा प्रगतिका लागि आधारशिला हो,’ विज्ञप्तिमा उल्लेख छ ।

    एमच्याम नेपालले अमेरिकी व्यावसायिक समुदाय नेपालमा दिगो आर्थिक प्रगति र नेपाली जनताको हितका लागि प्रतिबद्ध रहेको दोहोर्‍याएको छ । साथै, संस्थाले अन्तरिम सरकारसँग मिलेर आर्थिक संरचना सबल बनाउन आवश्यक सुधारका कदमलाई समर्थन गर्ने प्रतिवद्धता जनाएको छ ।

    विज्ञप्तिमा थप भनिएको छ, ‘कानून र व्यवस्था पुनःस्थापना, सम्पत्तिको थप क्षति रोकथाम र स्थायित्वका लागि सामूहिक कदम आवश्यक छ । पारदर्शी र जवाफदेही संस्था निर्माण तथा सुशासन सुनिश्चित गर्नु सार्वजनिक विश्वास जगाउन र दीर्घकालीन लगानी आकर्षित गर्न अत्यन्त जरुरी छ ।’

    एमच्याम नेपालले नेपालको दीर्घकालीन स्थिरता, सुधार कार्यक्रम र समृद्धिको यात्रामा निरन्तर संवाद र सहकार्य गर्ने प्रतिबद्धता प्रष्ट पारेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend