logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:05 AM

  • माछापुच्छे गाउँपालिकाले पदयात्रीसँग शुल्क उठाएकामा पर्यटन व्यवसायीको आपत्ति

    माछापुच्छे गाउँपालिकाले पदयात्रीसँग शुल्क उठाएकामा पर्यटन व्यवसायीको आपत्ति


    पर्यटन नेपाल

    बुधबार, १५ कार्तिक २०८०


    पोखरा । माछापुच्छ्रे गाउँपालिकाले पदयात्रीसँग शुल्क उठाउने निर्णय गरेकामा पर्यटन व्यवसायीहरुले आपत्ती जनाएका छन् ।

    ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष धर्मराज पन्थीले मंगलबार एक विज्ञप्ति जारी गरी गाउँपालिकाको निर्णयले पर्यटन व्यवसायमा नकारात्मक असर गर्ने बताएका हुन् ।

    ‘विगत कोरोना कालले थिलथिलो भएको नेपालको पर्यटन व्यवसाय भर्खरै मात्र बामे सर्न लागेको अवस्थामा यस प्रकारका पर्यटकहरुलाई झञ्झटिलो प्रक्रियामा अल्झाउने गरी लगाइएको नियम कानुनले यस क्षेत्रमा आउने पर्यटकको संख्या अन्य गन्तव्य मोडिने र गण्डकी प्रदेशमा पर्यटकको संख्या घट्ने निश्चितप्रायः छ’, विज्ञप्तिमा भनिएको छ ।

    टान र पदयात्रा व्यवस्थापन प्रणाली (टिम्स) अनुमति शुल्कबाट संकलित रकम बाँडफाँडको चरणमा रहेकोबेला पालिकाले पर्यटकीय गन्तव्यमा शुल्क लगाउनु पर्यटन व्यवसायका लागि चिन्ताजनक रहेको पनि टानको भनाइ छ ।

    टानको विज्ञप्तिमाथि प्रत्युत्तर दिँदै माछापुच्छ्रे गाउँपालिका ८ का वडाध्यक्ष राम गुरुङले आफूहरुले गलत मनसायले शुल्क उठाउन नलागेको बताएका छन् । उनले टान र टिम्समार्फत हालसम्म उठाएको सम्पूर्ण राजश्व विवरण सार्वजनिक गर्नसमेत आग्रह गरेका छन् ।

    ‘अहिलेसम्म उठाएर के गर्यो ? जम्मा पारेर सभा सेमिनार अनि विदेश भ्रमणमा सिध्याउने अनि हामी सोझै प्रभावित क्षेत्रमा सूचना केन्द्र, पदमार्ग निर्माण, सार्वजनिक शौचालय निर्माण, वेदर स्टेवन स्थापना, पदयात्रीको सुरक्षाको लागि आधुनिक सिस्टम, तथ्यांक राख्छु भन्दा यत्रो वक्तव्य ?’ गुरुङले भनेका छन्, ‘आँट छ भने अहिलेसम्म कुम्ल्याएको करको पारदर्शी गर ।’

    माछापुच्छ्रे गाउँपालिकाले गत शुक्रबार पालिकाभित्रका पदमार्गमा आउने पदयात्रीसँग शुल्क उठाउने सूचना निकालेको थियो । उक्त सूचनाअनुसार पालिकामा पदयात्रा गर्ने विदेशी पर्यटकले ५ सय रुपैयाँ र नेपाली पर्यटकले १ सय रुपैयाँ शुल्क तिर्नुपर्नेछ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend