काठमाडौँ । बुद्ध एयरको जहाज दुर्घटनापछि ठप्प बनेको भद्रपुर विमानस्थल सञ्चालनमा आएको छ ।
हुस्सु हटेर भिजिबिलिटी ‘क्लियर’ भएसँगै विमानस्थल बिहान १० बजेदखे सञ्चालनमा आएको हो ।
अहिले विमानस्थलको अवस्था सामान्य रहेको छ । दुर्घटना भएको जहाज प्राविधिक टोलीले अध्ययन गरिरहेको छ ।
बुद्ध एयरले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का निमित्त महानिर्देशक देवचन्द्रलाल कर्णको नेतृत्वमा प्राविधिक टोली आवश्यक उपकरणसहित भद्रपुर अवतरण गरिसकेको जनाएको छ ।
के भएको थियो ?
शुुक्रबार (हिजो) झापाको भद्रपुर विमानस्थलमा बुद्ध एयरको विमान रन-वेबाट चिप्लिएको थियो ।
विमान चिप्लेर ग्राउन्डभन्दा केही बाहिर गएको थियो । विमान अवतरणका क्रममा रन-वेबाट केही तल चप्लिएको थियो । तर यात्रु र चालक दलका सबै सदस्य सकुशल थिए ।
काठमाडौँ-भद्रपुर उडानको 901 उडान नम्बरको बुद्ध एयरको जहाज ओभर रनका कारण ग्रास यरियामा पुगेको हो ।
शुक्रबार राति ९ः१० बजे भएको बुद्ध एयरको विमान दुर्घटनामा चालक दलका एक जनासहित सात यात्रु भने सामान्य घाइते भएका छन् ।
बुद्ध एयरको एटीआर ७२ जहाज भद्रपुर विमानस्थलमा अवतरण गर्ने क्रममा रन–वेको पूर्वतर्फ ३०० मिटर ओभर रन भई जहाज घाँसे झाडी र माटोमा भासिएर दुर्घटना भएको हो । उक्त जहाजमा ५१ जना यात्री, चार जना चालक दलका सदस्य र एक जना विमानका इन्जिनियर थिए ।
तीमध्ये ललितपुर-४ निवासी को-पाइलट २४ वर्षीय सुशान्त श्रेष्ठ र अन्य छ जना यात्री घाइते भएका छन् ।
भद्रपुर-१० का ४० वर्षीय सबिन जोगी, विर्तामोड-७ की २० वर्षीया प्रेषिका अधिकारी, विर्तामोड-१ की ४२ वर्षीया सुमित्रा जोगी, दमक-१ का २८ वर्षीय कमलप्रसाद कटुवाल, काठमाडौँ-१६ की ४० वर्षीया मुना घतानी र काठमाडौँ-१६ की १६ वर्षीया प्रिया घतानी सामान्य घाइते रहेको प्रहरीले जनाएको छ ।
उक्त जहाज काठमाडौँबाट भद्रपुरका लागि शुक्रबार राति ८ः२३ बजे उडेको थियो भने भद्रपुर विमानस्थलमा ९ः१० बजे अवतरण गर्ने क्रममा ओभर रन भई दुर्घटना भएको थियो ।
जहाज दुर्घटनामा परे लगत्तै जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी उपरीक्षक राजन लिम्बुको कमान्डमा ७० जना प्रहरीको टोली उद्धारका लागि खटिएको थियो ।
विमान दुर्घटनापछि नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक देवचन्द्र लाल कर्ण, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक टेकनाथ सिटौला, बुद्ध एयरको उच्च व्यवस्थापन, नेपाली सेना तथा उद्धारकर्मी र इन्जिनियर प्राविधिक सहितको टोली भद्रपुर गएको थियो ।
