logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   06:58 AM

  • एक वर्षमा १५ हजार विदेशी पर्यटकले गरे मनास्लु भ्रमण

    एक वर्षमा १५ हजार विदेशी पर्यटकले गरे मनास्लु भ्रमण


    पर्यटन नेपाल

    शनिबार, १९ पुष २०८२


    काठमाडौँ । सन् २०२५ भरि १५ हजार विदेशी पर्यटकले मनास्लु क्षेत्रको अवलोकन भ्रमण गरेका छन् ।

    बेमौसमी बाढीपहिरो, हिमपात र जेनजी आन्दोलनका बाबजुद पनि मनास्लु क्षेत्र भ्रमण गर्ने पर्यटकको सङ्ख्या वृद्धि भएको हो ।

    त्यसअघि २०२४ मा मनास्लु क्षेत्र भ्रमण गर्ने विदेशी पर्यटकको संख्या १२ हजार ८०० थियो ।

    मनास्लु संरक्षण क्षेत्र आयोजना ९एमक्याप०ले तयार गरेको अभिलेखअनुसार सन् २०२५ भरि १४ हजार ९८० जना पर्यटक गोरखाको मनास्लु क्षेत्र भित्रिएका छन् ।

    १४ हजार ७३८ विदेशी, सार्क राष्ट्रबाट ३४४ र २४० जना स्वदेशी पर्यटक भित्रिएको मनास्लु संरक्षण क्षेत्र आयोजना ९एमक्याप०ले जनाएको छ ।

    एमक्याप प्रमुख सन्तोष शेरचनका अनुसार मनासलु क्षेत्र प्रवेश गर्नका लागि १४ हजार ७२१ जनाले अनलाइनमार्फत अनुमति लिएका थिए ।

    यस्तै, १७ जना पर्यटकले एमक्यापको जगत र सामागाउँस्थित चेकपोष्टबाट अनुमति लिएको उहाँले जानकारी दिए ।

    सन् २०२५ मा पर्यटन भित्रिएबापत ३ करोड ८५ लाख ८६ हजार संरक्षण क्षेत्र प्रवेश शुल्क सङ्कलन भएको एमक्याप प्रमुख शेरचन बताउँछन् ।

    जसमध्ये सार्क राष्ट्रका पर्यटकबाट तीन लाख ४४ हजार र नेपाली पर्यटकबाट ४८ हजार संकलन भएको छ ।

    मनास्लु क्षेत्र प्रवेशका लागि सार्क राष्ट्रका पर्यटकले प्रतिव्यक्ति रु एक हजार र अन्य राष्ट्रका पर्यटकले रु तीन हजार बुझाउनुपर्ने व्यवस्था रहेको उनको भनाइ छ ।

    ‘पर्यटकले काठमाडौँको भृकुटीमण्डप र पोखराको ड्यामसाइटस्थित काउन्टरमा प्रवेश दस्तुर बुझाउनुपर्ने प्रावधान छ,’ उनले भने, ‘यी दुवै ठाउँमा प्रवेश दस्तुर शुल्क नबुझाएका पर्यटकले सो क्षेत्र प्रवेश गर्न एमक्यापको जगत र सामागाउँस्थित चेकपोष्टमा दोब्बर दस्तुर तिर्नुपर्ने प्रावधान छ ।’

    नेपाली पर्यटकको हकमा भने प्रतिव्यक्ति रु एक सय प्रवेश शुल्क तोकिएको उनी बताउँछन् ।

    यसअघि विदेशी पर्यटकको मात्र विवरण सङ्कलन गर्ने गरेको एमक्यापले सन् २०२५ बाट भने नेपाली पर्यटकहरूको विवरणसमेत राख्न सुरु गरेको उनले जानकारी दिए ।

    मनास्लु क्षेत्रमा बर्सेनि पर्यटकको सङ्ख्या बढिरहेको छ ।

    एमक्याप प्रमुख सन्तोष शेरचन भने, ‘स्रोतसाधनको प्रयोग गरेर पर्यटकको राम्रो व्यवस्थापन गर्ने होभने केही वर्षमा मनास्लु क्षेत्र नेपालकै चर्चित पर्यटकीय गन्तव्य बन्न सक्छ ।

    मनासलुमा हरेक वर्ष उल्लेखनीय रूपमा पर्यटकको सङ्ख्या बढ्दै गएको उनको भनाइ छ ।

    एमक्यापको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८०/८१ मा नौ हजार ७८२ जना, आव २०७९/८० मा सात हजार ७०५ र आव २०७८/७९ मा दुई हजार २८४ जना पर्यटकले मात्र पर्यटकले मनासलु क्षेत्र भ्रमण गरेका थिए ।

    बर्सेनि पर्यटकको संख्यामा वृद्धि हुँदै जानु सुखद भएको एमक्याप प्रमुख शेरचनको भनाइ छ ।

    सो क्षेत्र भ्रमण गर्ने पर्यटकको सङ्ज्ञख्या २०७७/७८ मा सबैभन्दा कम अर्थात् जम्मा १९४ जना, आर्थिक वर्ष २०७६/७७ मा ५ हजार ३३८ र आव २०७५/७६ मा सात हजार ६५५ जना रहेको थियो ।

    रासस

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend