काठमडौँ । नेपाली काँग्रेसको दोस्रो विशेष महाधिवेशनमा ६२ प्रतिशतभन्दा बढीले नाम दर्ता गराइसकेका छन् ।
पुस २६ गते (आज) काठमाडौँको भृकुटिमण्डपमा भएको काँग्रेसको दोस्रो बिशेष महाधिवेशन ६२ प्रतिशत भन्दा बढि प्रतिनिधिहरूको नाम दर्ता गराएका हुन् ।
नाम दर्ता बिहान सवा ८ बजेबाट धमाधम सुरू भएको छ । अहिलेसम्म ६२.४ प्रतिशतले नाम दर्ता गराइसकेका छन् ।
गत असोज २९ गते ५४.५८ प्रतिशत प्रतिनिधिले विशेष महाधिवेशन माग गरेका थिए । काँग्रेस विधानको १७ (२) अनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गरेको तीन महिनाभित्र विशेष महाधिवेशन आह्वान गर्नुपर्ने हुन्छ ।
संस्थापनको बेवास्ता हठपछि विधानको उक्त दफामा टेकेर महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा दुई दिने विशेष महाधिवेशन आजबाट सुरू भएको छ ।
देशभरबाट कुल ४ हजार ७ सय ४३ जना महाधिवेशन प्रतिनिधि छन् । ६२.४ प्रतिशतले भन्नाले झण्डै २९०० भन्दा बढी महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराइसकेका छन् ।
भृकुटीमण्डपको मूलगेटमा रहेका स्टलहरूमा सात वटै प्रदेशका लागि छुट्टाछुट्टै डेस्क बनाएर दर्ता प्रक्रिया धमाधम सञ्चालन भइरहेको छ ।
नाम दर्ता गर्न आउँदा परिचय खुल्ने कागजात, एक प्रति पासपोर्ट साइजको फोटो र एक हजार रूपैयाँ दर्ता सुल्क हुनुपर्ने छ ।