काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा जारी नेपाली काँग्रेसको विशेष महाधिवेशनका लागि उम्मेदवारी मनोनयन दर्ता शुल्क निर्धारण गरिएको छ ।
पार्टीको केन्द्रीय निर्वाचन समितिले सोमबार सूचना जारी गर्दै विभिन्न पदका लागि लाग्ने शुल्क सार्वजनिक गरेको हो ।
निर्वाचन समितिका संयोजक सीताराम केसीद्वारा जारी सूचना अनुसार, ‘नेपाली काँग्रेस विशेष केन्द्रीय महाधिवेशन निर्वाचन निर्देशिका, २०८२’ को अनुसूची ७ मा व्यवस्था भए बमोजिम यो शुल्क तय गरिएको हो ।
कुन पदको उम्मेदवारीका लागि कति शुल्क ?
निर्वाचन समितिले सभापति पदको उम्मेदवारीका लागि ३० हजार रुपैयाँ शुल्क तोकेको छ । त्यस्तै, केन्द्रीय उपसभापति र महामन्त्री पदका लागि २५ हजार, सहमहामन्त्री पदका लागि २० हजार र केन्द्रीय सदस्य पदका लागि १० हजार रुपैयाँ दर्ता शुल्क तोकेको छ ।
सार्वजनिक कार्यतालिकाअनुसार नेतृत्व चयनका लागि मंगलबार (आज) राति ९ बजेदेखि १ बजेसम्म मतदान हुनेछ । निर्वाचन प्रक्रिया भने दिउँसोदेखि नै सुरु भइसकेको छ ।
