काठमाडौँ । कृषि विकास बैंक लिमिटेडले आफ्नो ५९ औँ वार्षिकोत्सव भव्यताका साथ सप्पन्न गरेकाे छ ।
बुधवार रामशाहपथ स्थित केन्द्रिय कार्यालयमा बैंकले विविध कार्यक्रमका साथ आफ्नो ५९ औँ वार्षिकोत्सव सप्पन्न गरेकाे हो ।
बैंक कृषि क्षेत्रमा लगानीका लागि स्थापित भएको यस बैंकले वार्षिकोत्सवका अवसरमा साना किसानलाई लक्षित गरी ‘वान मिनेट बिजनेस प्लान’ सफ्टवेयर तथा केन्द्रीय कार्यालयमा शिशु स्याहार केन्द्रको औपचारिक प्रारम्भ गरेको छ ।
आर्थिक वर्ष २०८२/८३ मा समग्र कर्जा वृद्धि लक्ष्यको ५० प्रतिशत कर्जा कृषि क्षेत्रमा नै लगानी गरेको बैंकले जनाएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) गोविन्द गुरुङले बैंकिङ सेवालाई चुस्त, दुरुस्त र ग्राहक केन्द्रित बनाउने उद्देश्यसहित पाँच वर्षे रणनीतिक व्यावसायिक योजना २०८१/८२ देखि आर्थिक वर्ष २०८४/८५ सम्म कार्यान्वयनमा ल्याइएको बताए ।
उनले भने, ‘बैंकले कृषि कर्जालाई पहिलो प्राथमिकतामा राख्दै ग्रामीण भेगमा बैंकिङ पहुँच विस्तारमा विशेष ध्यान दिएको छ । आयात प्रतिस्थापन तथा निर्यात प्रवर्द्धनमा सहयोग पुग्ने उत्पादनमूलक क्षेत्रहरूमा कर्जा विस्तारलाई प्राथमिकतामा राखिएको छ ।’

नेपाल राष्ट्र बैंकका नियम तथा निर्देशिकाको पूर्ण पालना गर्दै आर्थिक अनुशासन कायम गरेको उनको भनाइ थियो ।
उनले भने, ‘डिजिटलाइजेसनलाई केन्द्रमा राखेर विभिन्न डिजिटल सेवा प्रवाह गरिएको छ । व्यावसायिक विविधता पनि कायम गरि अन्य वाणिज्य बैंकसँग प्रतिस्पर्धी बैंकको रूपमा स्थापित हुन् पनि सफल भएका छौँ ।’
त्यस्तै बैंकका अध्यक्ष डिमप्रकाश पौडेल वार्षिकोत्सव समारोहमा बोल्दै बैंकले हिजो र आजको बैंकिङ प्रणालीमा आमूल परिवर्तन गरेको बताए । उनले भने, ‘कृषि विकास बैंकले परिवर्तनलाई धेरै हदसम्म आत्मसात् गर्दै आएको छ ।’

उनले बैंकिङ क्षेत्रमा आएको तीव्र परिवर्तनसँगै अघि बढ्न नयाँ प्रविधि तथा आधुनिक प्रशासनिक र बैंकिङ प्रणालीमा अभ्यस्त हुनुपर्ने आवश्यकता रहेको पनि बताए ।
बैंकमा हाल ५१ प्रतिशत नेपाल सरकार र ४९ प्रतिशत सर्वसाधारणको शेयर स्वामित्व रहेको छ ।
