काठमाडौँ । कृषि विकास बैंक लिमिटेडको सहयोगमा आईसीटी पत्रकार विकास मञ्चद्धारा मिति २०८२ माघ १६ गते आयोजित कार्यक्रमा टोखा नगरपालिका वडा नं. ९ स्थित चेतना महिला माध्यमिक विद्यालयमा एक दिने डिजिटल बैंकिङ्ग वित्तिय साक्षरता तालिम कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।
विद्यालयमा अध्ययनरत महिला दिदीबहिनीहरूलाई डिजिटल बैंकिङ्गको पहुँच, विस्तार र सुरक्षाबारे जानकारी दिने उद्देश्यले आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथि तथा प्रशिक्षकको रुपमा कृषि विकास बैंक लिमिटेड मुख्य कार्यालयका वरिष्ठ शाखा प्रमुख ध्रुव पौडेलले डिजिटल बैंकिंग कारोबार आजको अनिवार्य आवश्यकता भएको र यसबारे सम्पूर्ण ग्राहकरुले यो के हो, यसको प्रयोग गर्न के के कुराहरु आवश्यक पर्छ, डिजिटल बैंकिंग सेवाको प्रयोग कसरी गर्ने, सुरक्षा सतर्कता कसरी अपनाउने भन्ने विषयहरु लगायत आँफुलाई प्राप्त पिन, पासवर्ड र ओटिपी कोड एवं व्यक्तिगत विवरणहरु शेयर गर्न नहुने जस्ता महत्वपूर्ण विषयमा तालिममा सहभागी महिला दिदीबहिनीहरुलाई प्रशिक्षण गराए ।
उक्त कार्यक्रममा अन्य अतिथिको रुपमा राष्ट्रिय अभिभावक संघका केन्द्रीय सदस्य गोविन्द प्रसाद भुषाल, पूर्व प्रधानाध्यापक टेक नारायण सापकोटा, प्रशिक्षक कृष्ण सापकोटा, पूर्व बैंकर सुशील पन्त र आईसीटी पत्रकार विकास मञ्चका सदस्य कृष्ण राज तिमिल्सिनाले यस्ता तालिमले महिलाहरूको सामाजिक र आर्थिक स्तर उकास्नमा महत्वपूर्ण योगदान पुग्ने कुरा बताए भने विद्यालयकी प्रधानाध्यापक शान्ता पण्डित र सह प्रधानाध्यापक उर्मिला अमात्यले विद्यालयमा यस्तो व्यावहारिक ज्ञान भित्रिएकोमा खुसी व्यक्त गरिन् ।
सो कार्यक्रमको सभापतित्व आईसीटी पत्रकार विकास मञ्चका अध्यक्ष पुष्कर राज पाण्डेले गरेका थिए भने कार्यक्रमको सञ्चालन पत्रकार साबित्री बस्नेत (सबु) ले निकै व्यवस्थित ढंगले गरिन् ।