logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   06:58 AM

  • जमुनाह नाका खुल्दा पर्यटन क्षेत्र उत्साहित, तेस्रो मुलुकका नागरिकहरूकाे आवतजावत सुरु

    जमुनाह नाका खुल्दा पर्यटन क्षेत्र उत्साहित, तेस्रो मुलुकका नागरिकहरूकाे आवतजावत सुरु


    पर्यटन नेपाल

    शनिबार, १७ माघ २०८२


    नेपालगन्ज । जमुनाह नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवतजावत सुरु भएको छ ।

    एक साताअघिदेखि अध्यागमन कार्यालय, जमुनाहले तेस्रो मुलुकका नागरिकका लागि आगमन र प्रस्थान पूृर्ण रुपमा सञ्चालन गरेपछि त्यहाँबाट आउने पर्यटकलाई आवतजावत गर्न सहज भएको अध्यागमन कार्यालय, जमुनाह, बाँकेले जनाएको छ ।

    अध्यागमन कार्यालय, जमुनाहकी प्रमुख दुर्गा वलीले आगमन र प्रस्थान सुरु भएसँगै दुई जना तेस्रो मुलुकका पर्यटक भारत हुँदै गएको जानकारी दिइन् । करिब ६ वर्षको अवधिमा आगमन र प्रस्थान जमुनाहबाट सुरु भएको उनको भनाइ छ ।

    ‘जमुनाह नाकाबाट आवतजावत गर्ने कुनै पनि पर्यटकलाई असहज हुने अवस्था रहन्न, हामीले दिने सबै सेवा सुरु गरेका छौँ,’ उनले भनिन् ।

    नेपाल हुँदै भारत जाने र भारत हुँदै नेपाल आउनका लागि जमुनाह नाकाबाट निर्वाध आवतजावत गर्न मिल्ने उल्लेख गर्दै वलीले यसबाट पर्यटनका क्षेत्रमा नेपालले लाभ लिनसक्ने बताइन् । ‘यो नाकाबाट आवतजावत हुने भएपछि यहाँका होटेल चलायमान हुन्छन् र त्यसबाट आर्थिक कारोबार पनि बढ्न सक्छ,’ उनले भनिन् ।

    तेस्रो मुलुकबाट जमुनाह नाका हुँदै आउने पर्यटक बाँके र बर्दियाका पर्यकटीयस्थलसम्म पुग्नसक्ने र त्यसबाट राजस्व सङ्कलन बढ्ने उनको विश्वास छ ।

    भारतीय पत्रकार एसके मधेसियाले नाकाबाट हुने आवजावतले दुवै देशलाई लाभ हुने उल्लेख गर्दै भारत हुँदै जाने तेस्रो मुलुकका पर्यटकले सिधै नेपालका पर्यटकीय क्षेत्रको अवलोकन गर्न पाउने बताए ।

    नेपाल एसोसिएसन अफ टुर्स एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) बाँकेका अध्यक्ष डिल्लीराज रेग्मीले नाका सञ्चालनमा आएपछि सबैभन्दा बढी खुसी यहाँका व्यवसायी हुने बताए । तेस्रो मुलुकका पर्यटकले भारत हुँदै आएर बाँके र बर्दियाका पर्यटकीय क्षेत्रको भरपुर आनन्द लिनसक्ने उनको भनाइ छ ।

    कोरोनाकालदेखि जमुनाह नाकाबाट तेस्रो मुलुकका पर्यटक जमुनाह हुँदै नेपाल आउन बन्द गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend