काठमाडौँ । अछामको ढकारी गाउँपालिकाका नागरिकहरूको हकहितलाई केन्द्रमा राख्दै ढकारी-काठमाडौँ युवा समाज गठन गरिएको छ ।
काठमाडौँ आउने विद्यार्थी, युवा, बिरामी तथा अन्य ढकारीबासीले भोग्दै आएका समस्या समाधानमा सहजीकरण गर्ने उद्देश्यले युवा समाजको स्थापना गरिएको हो ।
अछामको ढकारी गाउँपालिका वडा नं. १ देखि ८ सम्मका युवाहरूको उपस्थितिमा काठमाडौँमा सम्पन्न भेलाले यस संस्थालाई संस्थागत रूपमा गठन गर्ने निर्णय सर्वसम्मत रूपमा पारित गरेको छ । छलफलपछि संस्थाको नाम ‘ढकारी युवा समाज’ राख्ने निर्णय गरिएको हो ।
भेलाले नृप बहादुर बि.क. लाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको छ । त्यस्तै, उपाध्यक्षमा कमल साउद, सचिवमा दिपक देवकोटा, सह-सचिवमा धिरेन्द्र थापा, कोषाध्यक्षमा मिन बहादुर साउद लगायत २० सदस्यीय कार्यसमिति गठन गरिएको छ ।
युवा समाजले ढकारीको दुःख-पीडामा एक भएर उभिने, परिवर्तनको पक्षमा आवाज उठाउने, ढकारीको विकासका लागि सम्बन्धित निकाय तथा व्यक्तिलाई समय–समयमा खबरदारी गर्ने जनाएको छ । साथै, काठमाडौंमा रहेका ढकारीबासीलाई आवश्यक परे सहजीकरण गर्ने लक्ष्य लिएको छ ।
भेलामा आज संस्थाको औपचारिक गठन मात्र गरिएको र आगामी दिनमा अर्को बैठक राखी विस्तृत कार्ययोजना बनाएर अगाडि बढ्ने निर्णय गरिएको छ ।