काडमाडौँ । रास्वपा उम्मेदवार शेख सगिरको चुनावी प्रचारमा हिँडेको गाडीले ठक्कर दिँदा ४ वर्षीया बालिकाको मृत्यु भएको छ ।
बिहीबार दिउँसो रौतहट क्षेत्र नम्बर २ का रास्वपा उम्मेदवार सगिरको चुनावी प्रचारमा हिँडेको बा १५ च ४२४४ नम्बरको गाडीले ठक्कर दिँदा ४ वर्षीया छोरी अल्फा खातुनको मृत्यु भएको हो ।
रास्वपा उम्मेदवार सगिर मठिया गाउँमा घरदैलो गरिरहेका बेला उनको गाडिले बालिकालाई ठक्कर दिएपछि गम्भीर घाइते भएकी बालिकालाई उपचारका लागि चालकले नै सिटी अस्पताल गौरमा लगेका थिए ।
बालिकालाई थप उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिएको थियो । गौरमा चिकित्सकले बालिकालाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
घाइते बालिकालाई अस्पताल छाडेर चालक फरार भएका छन् । फरार चालकको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।