logo

मंगलबार, ११ कार्तिक २०८३

logo

मंगलबार, ११ कार्तिक २०८३   |   12:13 AM

  • चौधरी ग्रुपले करिब १०० मिलियन अमेरिकी डलरमा लक्जरी होटल बनाउँदै

    चौधरी ग्रुपले करिब १०० मिलियन अमेरिकी डलरमा लक्जरी होटल बनाउँदै


    पर्यटन नेपाल

    आइतबार, १५ चैत्र २०८२


    काठमाडौँ । चौधरी ग्रुपले विश्वप्रसिद्ध होटल समूह म्यारियट इन्टरनेसनलसँगको साझेदारीमा प्रतिष्ठित लक्जरी ब्रान्ड ‘द रिट्ज–कार्लटन’ नेपाल ल्याउने घोषणा गरेको छ ।

    चौधरी ग्रुप अन्तर्गतको सिजी हस्पिटालिटी ग्लोबलले यस ऐतिहासिक लगानीमा रविन्द्र श्रेष्ठ (आई जे ग्रुप), सौरव शर्मा (शर्मा एन्ड कम्पनी), अमृत शाक्य र सञ्चित श्रेष्ठसँग साझेदारी गर्न लागेको हो । यो नेपालको हस्पिटालिटी क्षेत्रमा गरिएको सबैभन्दा ठूलो लगानी हो ।

    ठमेलमा ९ रोपनी जग्गामा निर्माण हुन लागेको यो परियोजनाको लागत करिब १०० मिलियन अमेरिकी डलर अनुमान गरिएको छ ।

    कम्पनीका अनुसार यस परियोजनामा १५० रुम क्षमता सहितको अल्ट्रा लक्जरी होटल, ब्रान्डेड रेसिडेन्स, व्यवसायिक कम्प्लेक्स र क्यासिनोसमेत रहनेछ ।

    सिजी हस्पिटालिटी ग्लोबलका प्रबन्ध निर्देशक एवं कार्यकारी अधिकृत राहुल चौधरीले रिट्ज-कार्लटनको प्रवेशले चौधरी ग्रुपको नेपालको पर्यटन क्षेत्रमा विश्वस्तरीय स्तरमा योगदान पुर्‍याउने प्रतिबद्धतालाई पुष्टि गरेको बताए ।

    उनले भने, ‘आजको यो पहल केवल परियोजना उद्घाटनको लागि मात्र होइन, यो युवा सोच, युवा उद्यमीहरूको पहल हो जसले विश्वस्तरीय पर्यटन नेपालमा स्थापित गर्न चाहन्छन् । यो परियोजना नेपालका नयाँ प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकार प्रति हाम्रो समर्थन र विश्वासको प्रतीक पनि हो। यस परियोजनामार्फत हामी रोजगार सिर्जना, उच्चस्तरीय पर्यटन प्रवर्द्धन र आर्थिक वृद्धि बढाउन राष्ट्रिय लक्ष्यमा योगदान पुर्‍याउने लक्ष्य राखेका छौं ।’

    सिजी हस्पिटालिटी र साझेदारहरूले यो परियोजनामार्फत नयाँ सरकारको निजी क्षेत्रप्रतिको विश्वास र लगानी प्रवर्द्धनका लक्ष्यप्रति प्रतिबद्धता देखाएका छन् । यो होटलको कार्य सम्पन्न भएपछि होटलको एक रातको रुम रेट एक हजार अमेरिकी डलरभन्दा बढी रहने अपेक्षा गरिएको छ ।

    सिजी हस्पिटालिटी ग्लोबल हाल प्रमुख अन्तर्राष्ट्रिय होटल ब्रान्डहरूसँग साझेदारी गर्दै आफ्नो विश्वव्यापी पहुँच विस्तार गर्दै आएको छ । हाल सिजी हस्पिटालिटी ग्लोबलको पोर्टफोलियोमा १२ देशका १३० गन्तव्यमा २३० भन्दा बढी होटल तथा रिसोर्ट, र १५ हजारभन्दा बढी रुम क्षमता रहेको छ ।

    सन् १९८३ मा स्थापित रिट्ज-कार्लटन ब्रान्डले हाल ३० देशमा १०८ भन्दा बढी होटल तथा रिसोर्ट सञ्चालन गरिसकेको छ ।

    शुक्रबार ठमेलमा रिट्ज-कार्लटन काठमाडौँको भूमिपुजन कार्यक्रम सम्पन्न भएको छ । परियोजना २०२९ को मध्यसम्म पूरा गर्ने लक्ष्य राखिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  |  Privacy Policy  |  Our Team  |  Contact  |  Site By : SobizTrend