गुल्मी । गुल्मीको रेसुंगा विमानस्थलबाट आजदेखि सातामा चार पटक हवाई उडान सञ्चालन हुने भएका छन् ।
नेपाल वायुसेवा निगमले काठमाडौँबाट गुल्मीका लागि आइतबार, मंगलबार, बिहीबार र शनिबार उडान भर्ने तालिका सार्वजनिक गरेको हो ।
यसअघि आइतबार, मंगलबार र बिहीबार उडान सञ्चालन हुँदै आएको थियो ।
नेपाल वायुसेवा निगमका आन्तरिक उडानतर्फ रहेका ट्विनअटर जहाजको मर्मतसम्भार गरेसँगै उडान तालिका थप गरिएको रेसुंगाका स्टेसनका प्रमुख सुमन थापाले जानकारी दिए ।
उनका अनुसार निगमको उडान तालिका थप भएसँगै भाडादरसमेत वृद्धि भएको छ ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै रेसुंगा-काठमाडौँको हवाई उडानको भाडादरमा वृद्धि भएको स्टेसन प्रमुख थापाले बताए।
नयाँ लागू गरिएको भाडादर अनुसार काठमाडौँबाट रेसुंगाका लागि १० हजार ९०२ र रेसुंगाबाट काठमाडौँका लागि १० हजार ७०२ निर्धारण गरिएकोे उनलेले जानकारी दिए ।
निगमले यसअघि काठमाडौँबाट रेसुंगाका लागि सात हजार ५०० र गुल्मीबाट काठमाडौँका लागि सात हजार ३०० भाडादर निर्धारण गरेको थियो ।
विगतमा यात्रुहरूको अत्यधिक घुइँचो हुने गरेको रेसुंगा विमानस्थलमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै भाडादरमा तीन हजार ४०२ मूल्य वृद्धि गरिएको स्टेसन प्रमुख थापाले जानकारी दिए ।
उनका अनुसार निगमले आन्तरिक उडानतर्फ ट्विनअटर जहाजले सेवा दिइरहेको छ ।
वर्षाको समय र प्रतिकूल मौसमका कारणबाहेक पछिल्लो पाँच महिनादेखि गुल्मीको रेसुंगा विमानस्थलमा नियमित रूपमा हवाई सेवा सञ्चालन हुँदै आएको छ ।
नेपाल वायुसेवा निगमद्वारा १८ सिट क्षमताको ट्विनअटर जहाजबाट काठमाडौँ–रेसुंगा सेवा सञ्चालन हुँदै आएको छ ।
काठमाडौँबाट आइतबार बिहान ८:५ बजे र रेसुंगाबाट बिहान ९:५ बजे र मङ्गलबार, बिहीबार र शनिबार काठमाडौँबाट बिहान ६:१५ बजे र रेसुंगा विमानस्थलबाट काठमाडौंका लागि बिहान ७:१५ बजे उडान हुने स्टेसन प्रमुख थापाले जानकारी दिए ।
दिउँसोको समयमा हावाको चाप बढी हुने भएकाले प्राविधिक दृष्टिकोणले बिहानको समयमा मात्र उडान भर्ने गरिएको उनको भनाइ छ ।
गुल्मीमा हवाई उडान सुरु भएसँगै जिल्लामा आउने आन्तरिक एवं बाह्य पर्यटकको संख्यामा पनि वृद्धि हुँदै गएको छ ।
करिब १६ देखि १८ घण्टाको लामो स्थलमार्गबाट यात्रा गरेर राजधानी पुग्नुपर्ने बाध्यता हटेको यात्रुहरू बताउँछन् ।
सेवा सुरु भएपछि हवाईमार्गबाट ४५ देखि ५० मिनेटमा गुल्मीबाट राजधानी आवतजावत गर्न सकिन्छ। गुल्मीमा नेपाल वायुसेवा निगमले विसं २०८० वैशाख २९ गतेदेखि व्यावसायिक रूपमा हवाई उडान सुरु गरेको थियो ।