महेन्द्रनगर। वन तथा वातावरणमन्त्री गिता चौधरीले पर्यापर्यटनमार्फत स्थानीय जनताको आयआर्जन वृद्धि गर्न निकुञ्जले विशेष जोड दिनुपर्ने बताएकी छन्।
कञ्चनपुरमा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अनुगमन गर्दै मन्त्री चौधरीले निकुञ्जको संरक्षणसम्बन्धी गतिविधिको जानकारी लिइन्।
निकुञ्जका संरक्षण अधिकृत चन्द्रशेखर चौधरीले अनुगमनका क्रममा निकुञ्ज प्रशासनले मानववन्यजन्तु द्वन्द्व न्यूनीकरण, वन्यजन्तुको बासस्थान व्यवस्थापन, चोरीसिकारी नियन्त्रण तथा घाइते र समस्याग्रस्त वन्यजन्तुको उद्धार र पर्यापर्यटनलगायतका कार्यहरू प्रभावकारी सञ्चालन भइरहेको जानकारी गराए।
मन्त्री चौधरीले मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा थप ध्यान दिनुपर्ने र पर्यापर्यटनमार्फत स्थानीय जनताको आयआर्जन वृद्धि गर्न निकुञ्जले विशेष जोड दिनुपर्ने धारणा राखिन्।
कञ्चनपुरमा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज नेपालको प्रमुख पर्यटकीय गन्तव्यमध्ये एक हो। जैविक विविधता र दुर्लभ वन्यजन्तुका लागि परिचित छ। शुक्लाफाँटामा ३४ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको ‘शुक्लाफाँटा घाँसेमैदान’ छ। बाह्रसिङ्गाको बथान पनि यहाँ पाइन्छ।
दुर्लभ वन्यजन्तु र चराचुरुङ्गी (पाटेबाघ,एकसिंगे गैँडा र चराचुरुङ्गी) को मुख्य बासस्थान हो। यो क्षेत्र २०३२ मा वन्यजन्तु आरक्ष र ०७३ फागुन ९ गते राष्ट्रिय निकुञ्जका रूपमा घोषणा गरिएको हो, जसको सुरुवात २०२६ मा शिकार आरक्षका रूपमा भएको थियो। निकुञ्जभित्र रहेको राणिताल चरा अवलोकन र गोही हेर्नका लागि प्रख्यात छ।