logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   05:58 AM

  • साहसिक पर्यटनदेखि ‘देवभूमि नेपाल’ सम्म, पर्यटनमा नयाँ फड्कोको लक्ष्य

    साहसिक पर्यटनदेखि ‘देवभूमि नेपाल’ सम्म, पर्यटनमा नयाँ फड्कोको लक्ष्य


    पर्यटन नेपाल

    सोमबार, २८ बैशाख २०८३


    काठमाडौँ। सरकारले पर्यटन क्षेत्रको समग्र विकास, हवाई पूर्वाधार विस्तार र सेवाको आधुनिकीकरणलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। नागरिक उड्डयनमा संरचनात्मक सुधारदेखि ‘भिजिट नेपाल २०८५’ को तयारीसम्मका महत्त्वाकाङ्क्षी योजनाहरू सरकारले अघि सारेको हो ।

    हवाई पूर्वाधार र विमानस्थलको आधुनिकीकरण
    सरकारले हवाई सेवालाई भरपर्दो र प्रतिस्पर्धी बनाउन अन्तर्राष्ट्रिय विमानस्थलहरूको पूर्ण सञ्चालन र आधुनिकीकरण गर्ने नीति लिएको छ । नागरिक उड्डयन क्षेत्रमा संरचनात्मक सुधार गर्दै निजी क्षेत्रको सहभागिता विस्तार गरिने भएको छ ।
    विमानस्थलमा यात्रुको प्रतीक्षा समय घटाउन ई-गेट प्रणाली जडान गरिने र पर्यटक भिसा सेवालाई पूर्ण रूपमा अनलाइन बनाइने उल्लेख छ। गौतम बुद्ध र पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवा प्रदायकहरूलाई आकर्षित गर्न कूटनीतिक पहल गरिने सरकारको योजना छ।

    देवभूमि नेपाल’ र आध्यात्मिक पर्यटन
    नेपाललाई विश्व आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा स्थापित गर्न सरकारले ‘देवभूमि नेपाल’ राष्ट्रिय अभियान सञ्चालन गर्ने भएको छ। पशुपतिनाथ, लुम्बिनी, जनकपुरधाम र मुक्तिनाथ जस्ता धार्मिक क्षेत्रको प्रवर्धनका लागि ‘आध्यात्मिक तीर्थ कूटनीति’ अवलम्बन गरिनेछ। नेपाललाई धार्मिक, सांस्कृतिक, आरोग्य, अध्ययन र चलचित्र पर्यटनको उदाउँदो गन्तव्यका रूपमा विकास गरिनेछ ।

    नेपाल होमस्टे ब्रान्डिङ र रोजगारी
    ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले होमस्टेलाई विशेष प्राथमिकता दिएको छ। कम्तीमा पाँच हजार नयाँ होमस्टेलाई “नेपाल होमस्टे” ब्रान्डिङसहित बुकिङ प्लेटफर्ममा आबद्ध गरिने नीति तथा कार्यक्रममा उल्लेृख छ। स्थानीय कला र संस्कृतिलाई जोड्दै सीमान्तकृत तथा दलित समुदायको आयआर्जन र रोजगारीमा जोड दिइने भएको छ।

    साहसिक पर्यटन र नयाँ पदमार्ग
    नेपाललाई साहसिक पर्यटनको आकर्षक गन्तव्य बनाउन पर्वतारोहण, ट्रेकिङ, र्‍याफ्टिङ र प्याराग्लाइडिङ लगायतका पूर्वाधार र सुरक्षा मापदण्ड सुदृढ गरिने भएको छ। हिमाली, मध्यपहाडी र तराई क्षेत्रमा कम्तीमा १० वटा नयाँ पदमार्ग पहिचान र प्रवर्धन गरिने नीति तथा कार्यक्रममा भनिएको छ। कर्णाली, सुदूरपश्चिम, मधेश र कोशी प्रदेशका नयाँ गन्तव्यहरूलाई विशेष प्राथमिकता दिइने भएको छ।

    डिजिटल प्रणाली र बोर्डको पुनर्संरचना
    अध्यागमन बिन्दुबाटै पर्यटकीय अनुमति र सेवाहरूलाई एकीकृत गर्न ‘एकद्वार डिजिटल पर्यटन प्रणाली’ लागु गरिने भएको छ। पर्वतीय पर्यटनको खोज तथा उद्धारलाई आधुनिक प्रविधिसँग जोडिनेछ ।

    साथै, नेपाल पर्यटन बोर्डलाई सार्वजनिक-निजी साझेदारी मोडलमा पुनर्संरचना गरी थप नवप्रवर्तनशील बनाउने सरकारको घोषणा छ। ‘भिजिट नेपाल २०८५’ को पूर्व तयारीका लागि पर्यटकको बसाइ अवधि र खर्च बढाउने गरी अन्तर्राष्ट्रियस्तरमा प्रवर्धनका कार्यक्रमहरू सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend