काठमाडौँ। नेपाल पर्यटन बोर्डले भारतीय पर्यटकहरूका लागि यात्रासम्बन्धी कुनै पनि नयाँ प्रतिबन्ध वा नियम लागू नगरेको स्पष्ट पारेको छ।
पछिल्लो समय सामाजिक सञ्जाल र केही सञ्चार माध्यमहरूमा भारतीय पर्यटकको बसाई अवधि ३० दिनमा सीमित गरिएको, अनिवार्य परिचयपत्र मागिएको र सवारी साधन जफत गर्ने जस्ता खबरहरू फैलिएपछि नेपाल पर्यटन बोर्डले त्यसको खण्डन गरेको हो।
बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत हिमतसिंह ऐरले बुधबार विज्ञप्ति जारी गर्दै भारतीय पर्यटकमाथि लगाइएका भनिएका नयाँ नियमहरू पूर्णतः आधारहीन, भ्रामक र गलत रहेको जनाएका छन्।
‘नेपाल र भारतबीचको खुल्ला सिमानाको व्यवस्था र द्विपक्षीय समझदारीमा कुनै परिवर्तन गरिएको छैन। भारतीय पर्यटकको बसाई अवधि तोकिएको वा सवारी साधन जफत गरिने भन्ने हल्लामा कुनै सत्यता छैन,’ विज्ञप्तिमा भनिएको छ।
नेपाल सरकारले भारतीय पर्यटकको बसाइ अवधिमा कुनै नयाँ प्रतिबन्धात्मक नीति लागू नगरेको तथा नेपाल-भारतबीच लामो समयदेखि कायम खुला सीमा व्यवस्था र द्विपक्षीय समझदारीमा कुनै परिवर्तन नभएको जनाएको छ । नेपाल र भारतबीचको ऐतिहासिक जनस्तरको सम्बन्ध, सांस्कृतिक निकटता तथा पर्यटन सहकार्य यथावत् रहेको पनि बोर्डले उल्लेख गरेको छ ।
‘वास्तवमा, नेपाल सरकारले हालै भारत तथा अन्य मुलुकबाट निजी सवारी साधनमार्फत स्थलमार्ग हुँदै नेपाल प्रवेश गर्ने पर्यटकका लागि यात्रा सहज बनाउन नयाँ अनलाइन सहजीकरण प्रणाली सञ्चालनमा ल्याएको छ । अर्थ मन्त्रालयअन्तर्गत भन्सार विभागद्वारा विकसित उक्त डिजिटल प्रणालीमार्फत विदेशी सवारी साधनले अस्थायी प्रवेश अनुमति तथा राजस्व भुक्तानी पूर्ण रूपमा अनलाइनमार्फत गर्न सक्ने व्यवस्था गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ।
यस पहलको उद्देश्य प्रक्रिया सरल बनाउने, सीमाक्षेत्रमा हुने झन्झट कम गर्ने तथा पर्यटक अनुभवलाई थप सहज र प्रभावकारी बनाउने रहेको बोर्डले जनाएको छ ।
यात्रा सहज बनाउन अनलाइन प्रणाली
नियमहरू कडा पारिएको हल्ला चलिरहँदा, सरकारले उल्टै भारतीय पर्यटकहरूका लागि यात्रा थप सहज बनाउन नयाँ अनलाइन सहजीकरण प्रणाली सुरु गरेको छ।
अर्थ मन्त्रालय अन्तर्गतको भन्सार विभागले विकास गरेको यो डिजिटल प्रणालीमार्फत निजी सवारी साधनमा नेपाल प्रवेश गर्ने पर्यटकहरूले अब अस्थायी प्रवेश अनुमति अनलाइनबाटै लिन सक्नेछन्।
राजस्व भुक्तानीका सबै प्रक्रियाहरू पूर्ण रूपमा अनलाइनमार्फत पूरा गर्न सकिनेछ। यो पहलले सीमा नाकाहरूमा हुने झन्झट कम गर्ने र आगन्तुकहरूको अनुभवलाई थप गुणस्तरीय बनाउने बोर्डको विश्वास छ।