काठमाडौँ। नबिल बैंकले आफ्नो डिजिटल बैंकिङ प्लेटफर्म ‘एनबैंक’ मार्फत एकीकृत लगानी सेवाको सुरुवात गरेको छ। बैंकले ग्राहकहरूलाई बैंकिङ कारोबारका साथै लगानीका अवसरहरू पनि डिजिटल माध्यमबाटै उपलब्ध गराउने उद्देश्यले यो सेवा विस्तार गरेको जनाएको छ।
यही वैशाख ३१ गते नबिल बैंक र नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडबीच भएको द्विपक्षीय समझदारीसँगै औपचारिक रूपमा यो सुविधा सञ्चालनमा आएको छ। समझदारी पत्रमा नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत आदर्श बजगाईं र नबिल इन्भेस्टमेन्ट बैंकिङका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन्।
एउटै एपबाट लगानी व्यवस्थापन
नयाँ सुविधा थपिएसँगै नबिल बैंकका ग्राहकहरूले अब एनबैंक एपमार्फत नै सिस्टेम्याटिक इन्भेस्टमेन्ट प्लान एसआइपीमा दर्ता हुन र मासिक किस्ता भुक्तानी गर्न सक्नेछन्। यसका लागि ग्राहकले एनबैंकको होमपेजमा उपलब्ध ‘इन्भेस्टमेन्ट, एसआइपी, टीएमएस’ आइकनमा क्लिक गरी प्रक्रिया अगाडि बढाउन सक्ने बैंकले जनाएको छ। यो सेवा प्रयोग गरेबापत ग्राहकलाई कुनै अतिरिक्त शुल्क लाग्ने छैन।
बैंकका नायब प्रमुख कार्यकारी अधिकृत बजगाईंले ग्राहकलाई लगानीका लागि सरल, पहुँचयोग्य र पूर्ण रूपमा डिजिटल माध्यम प्रदान गर्नु नै बैंकको मुख्य लक्ष्य रहेको बताए। ‘एनबैंकमा यो सुविधा थपिएसँगै ग्राहकहरू लगानीतर्फ थप आकर्षित हुने र वित्तीय बजारमा उनीहरूको सहभागिता बढ्ने हाम्रो विश्वास छ,’ उनले भने।
बैंकका अनुसार यो सेवाबाट नेपालमा रहेका ग्राहक मात्र नभई विदेशमा रहेका नेपालीहरूले समेत सहजै नेपालको वित्तीय बजारमा लगानी गर्न सक्नेछन्। यसले रेमिट्यान्सलाई उत्पादनशील क्षेत्रमा जोड्न समेत मद्दत पुग्ने देखिन्छ।