नयाँदिल्ली। नेपालको पर्यटन प्रवर्द्धनलाई डिजिटल र आधुनिक माध्यमबाट अगाडि बढाउने उद्देश्यका साथ नयाँ दिल्लीस्थित नेपाली दूतावासले भारतीय सामाजिक सञ्जालका प्रख्यात ‘इन्फ्लुएन्सर्स’, भ्लगर्स र पोडकास्टर्सलाई नेपाल भ्रमण गराउने भएको छ।
दूतावासले एक सूचना जारी गर्दै नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा र आध्यात्मिक गन्तव्यको प्रचारप्रसारका लागि ‘फेमिलिराइजेसन ट्रिप’ मा सहभागी हुन इच्छुक भारतीय डिजिटल कन्टेन्ट क्रिएटरबाट आवेदन आह्वान गरेको हो।
चीन र तेस्रो मुलुकका पर्यटकसँगै नेपालका लागि सबैभन्दा ठूलो र सुगम बजार मानिएको भारतीय पर्यटकलाई आकर्षित गर्न दूतावासले यो नविनतम् रणनीति अघि सारेको देखिन्छ ।
५ जना उत्कृष्ट प्रवर्द्धक छानिने
दूतावासका अनुसार प्राप्त आवेदनहरूमध्येबाट उत्कृष्ट ५ जना भारतीय सामाजिक सञ्जाल इन्फ्लुएन्सर्स/भ्लगर्स लाई छनोट गरी नेपाल भ्रमण गराइनेछ। भ्रमणका क्रममा उनीहरूले नेपालको आतिथ्यता, पर्वतीय पर्यावरण, तालतलैया, विश्व सम्पदा सूचीमा सूचीकृत स्थल, विभिन्न मन्दिर, गुम्बा तथा सांस्कृतिक जात्राहरूको प्रत्यक्ष अनुभव लिनेछन्।
भ्रमणपश्चात् सहभागीले नेपाल भ्रमणका अनुभव, यात्राका लागि व्यावहारिक जानकारी तथा प्रवर्द्धनात्मक भिडियो, रिल्स, सर्ट्स, पोडकास्ट र ब्लग सामग्रीका रूपमा आफ्ना सामाजिक सञ्जाल (यूट्यूब, इन्स्टाग्राम, फेसबुक, एक्स आदि) मार्फत सार्वजनिक गर्नुपर्नेछ। यसले भारतीय पर्यटकहरूमाझ नेपालको सकारात्मक छवि निर्माण गर्न र भ्रमणका लागि प्रेरित गर्न ठूलो सघाउ पुर्याउने विश्वास गरिएको छ।्
परम्परागत शैलीको प्रचारभन्दा लाखौँ फलोअर्स भएका सामाजिक सञ्जालका सेलिब्रेटीहरूमार्फत गरिने प्रवर्द्धन बढी प्रभावकारी र विश्वसनीय हुने आधुनिक मान्यता छ । नयाँ दिल्लीस्थित नेपाली दूतावासको यो कदमले भारतीय बजारमा फुर्सदिला पर्यटक, धार्मिक दर्शनार्थी, साहसिक यात्राका शौकिन तथा पारिवारिक भ्रमणमा निस्कने भारतीय नागरिकहरूलाई नेपालतर्फ आकर्षित गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
कस्ता क्रिएटरले आवेदन दिन पाउँछन्?
भारतीय नागरिक वा भारतमा आधारित डिजिटल कन्टेन्ट क्रिएटर हुनुपर्ने।
यूट्यूब, इन्स्टाग्राम, फेसबुक, एक्स (ट्विटर) जस्ता प्लेटफर्ममा सक्रिय उपस्थिति भएको र दर्शक संख्या बलियो भएको हुनुपर्ने।
विशेष गरी यात्रा, संस्कृति, अध्यात्म, जीवनशैली, साहसिक पर्यटन, वेलनेस वा परिकारसँग सम्बन्धित सामग्री बनाउने अनुभव भएको हुनुपर्ने।
अङ्ग्रेजी, हिन्दी वा अन्य क्षेत्रीय भारतीय भाषामा प्रभावकारी रूपमा सञ्चार गर्न सक्ने क्षमता भएको हुनुपर्ने।
आवेदन प्रक्रिया र समयसीमा
इच्छुक डिजिटल क्रिएटरहरूले आफ्नो व्यक्तिगत विवरण, सामाजिक सञ्जालका लिङ्कहरू, फलोअर्स र भ्युजको विवरण, पुराना कामहरूका नमूना तथा नेपाल पर्यटन प्रवर्द्धनका लागि आफ्ना अवधारणा (कन्सेप्ट आइडिया) सहित ३० मे २०२६ भित्र आवेदन दिइसक्नुपर्नेछ।
आवेदन दूतावासको आधिकारिक इमेल [email protected] मा र बोधार्थ (CC) [email protected] मा पठाउनुपर्ने सूचनामा उल्लेख छ । छनोट भएका सहभागीहरूको भ्रमण तालिका र अन्य प्राविधिक विवरण दूतावासले पछि जानकारी गराउनेछ।