सुर्खेत। कर्णाली प्रदेशको प्रमुख हवाई प्रवेशद्वारका रूपमा रहेको सुर्खेत विमानस्थलबाट सञ्चालन हुँदै आएको निशुल्क सटल बस सेवा विस्तार गरिएको छ। संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले बिहीबार विमास्थल र सटल बस सेवा अनुगमनपछि यात्रुको सुविधाका लागि सेवा विस्तार गर्न निर्देशन दिएका हुन् ।
उक्त निर्देशनपछि सुर्खेत नागरिक उड्डयन कार्यालय अन्तर्गत विमानस्थल प्रमुख हिराजन काफ्लेले निशुल्क सटल बस सेवा विस्तार गरिएको जानकारी दिएका हुन् । उनले बिहीबार नै एक सूचना जारी गर्दै सेवा विस्तार गरिएको जानकारी गराएका हुन् । सुर्खेत नागरिक उड्डयन कार्यालयले जारी गरेको सूचना अनुसार शुक्रबारदेखि निरन्तर विमानस्थलदेखि मुख्य बजार क्षेत्रसम्म यात्रुहरूको सहज आवतजावतका लागि सटल बस सेवा विस्तार गरिएको हो ।
विमानस्थल प्रमुख काफ्लेले जारी गरेको सूचनामा भनिएको छ, ‘यस नागरिक उड्डयन कार्यालयाट यात्रुहरुका लागि निशुल्क सटल बस सेवा विमानस्थलदेखि तीनकुने चोकसम्म सञ्चालन हुँदै आएकोमा उक्त सटल बस सेवा मिति २०८३ /०२/०८ गतेदेखि सुर्खेत विमानस्थलदेखि कालुन्चोक, घण्टाघर चोक, मंगलगढी चोक हुँदै तीनकुने चोकसम्म सञ्चालन हुने हुँदा सम्पूर्ण यात्रु महानुभावहरुको जानकारी लागि अनुरोध गरिन्छ ।’
सुर्खेत विमानस्थल कर्णाली प्रदेशको पर्यटन, व्यापार तथा प्रशासनिक गतिविधिको प्रमुख हवाई केन्द्रका रूपमा विकसित हुँदै गएको छ।
पछिल्लो समय काठमाडौंबाट दैनिक नियमित उडान हुने र कर्णालीका हिमाली जिल्लातर्फ जाने यात्रुहरूको संख्या बढ्दै जाँदा विमानस्थल आसपास यातायात व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको थियो। यही अवस्थालाई सहज बनाउन सटल बस सेवा विस्तार गरिएको पर्यटन मन्त्रालयका सचिव निरौलाले बताएका छन् । ‘विशेषगरी आन्तरिक हवाई यात्रु, पर्यटक, ज्येष्ठ नागरिक तथा पहिलो पटक सुर्खेत आउने यात्रुहरूलाई लक्षित गर्दै यो सेवा प्रभावकारी बनाउन सञ्चालन रुट विस्तार गरिएको छ । यात्रुहरूले विमानस्थलबाट बजारसम्म पुग्न महँगो निजी सवारी प्रयोग गर्नुपर्ने बाध्यता कम हुने विश्वास हामीले लिएका छौं,’ उनले भने।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरसँग विमानस्थलको पहुँच थप व्यवस्थित हुँदा पर्यटन तथा सेवा क्षेत्रलाई समेत प्रत्यक्ष लाभ पुग्ने स्थानीय व्यवसायीहरूको भनाइ छ ।