दाङ। लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। सोमबार प्रदेश सभाको बैठकमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा पर्यटन क्षेत्रको विविधीकरण, पूर्वाधार विकास र स्थानीय रोजगारी सिर्जनालाई विशेष प्राथमिकता दिइएको छ।
प्रदेश सरकारले लुम्बिनी, स्वर्गद्वारी र बर्दिया राष्ट्रिय निकुञ्जलाई समेटेर सिल्भर ट्रिङ्गलको रूपमा एकीकृत विकास गर्ने नवीन अवधारणा अघि सारेको छ। यसका साथै अन्तर(प्रदेश पर्यटनलाई जोड्न लुम्बिनीदेखि मुक्तिनाथसम्म र आन्तरिक रूपमा कोइलाबासदेखि गोरक्षरत्ननाथ मन्दिर हुँदै स्वर्गद्वारीसम्म धार्मिक तथा सांस्कृतिक परिपथ निर्माण गरिने नीति लिइएको छ।
साहसिक पर्यटनतर्फ रोल्पा र रुकुम (पूर्वी भाग) का उच्च पहाडी तथा हिमाली क्षेत्रमा पदमार्ग निर्माण गर्ने घोषणा गरिएको छ। यसै कार्यक्रम अन्तर्गत साहसिक पर्यटकहरूलाई आकर्षित गर्न पुथा हिमालमा बेसक्याम्प निर्माण कार्यलाई अगाडि बढाइनेछ।
आरोग्य पर्यटन हब र डिजिटल प्रवर्द्धन
लुम्बिनी क्षेत्रलाई आरोग्य पर्यटन हबका रूपमा स्थापित गर्ने सरकारको लक्ष्य छ। सङ्घीय सरकारले घोषणा गरेको भिजिट नेपाल २०८५ बाट अधिकतम लाभ लिन, विदेशी तथा स्वदेशी पर्यटकको बसाइ अवधि लम्ब्याउन र खर्च बढाउनका लागि एक एकीकृत पर्यटन डिजिटल प्लेटफर्म निर्माण गरी व्यापक प्रचारप्रसार गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
प्रदेशभित्रका प्रमुख पुरातात्त्विक, धार्मिक तथा ऐतिहासिक स्थलहरूको संरक्षणलाई निरन्तरता दिइने भएको छ। यस अन्तर्गत बाँकेको बागेश्वरी, दाङको पाण्डवेश्वर र छिल्लीकोट, बर्दियाको ठाकुरबाबा, प्यूठानको स्वर्गद्वारी, अर्घाखाँचीको सुपादेउराली र पाणिनी, गुल्मीको रिडी र रेसुङ्गा, पाल्पाको रानीमहल, रुपन्देहीको जितगढी, नवलपरासीको बाबा बर्दगोरिया तथा रोल्पाको जलजला लगायतका क्षेत्रको पूर्वाधार विकास गरिनेछ।
समुदायमा आधारित पर्यटन र होमस्टे
स्थानीय बासिन्दाको आर्थिक स्वामित्व र लाभ सुनिश्चित गर्न समुदायमा आधारित पर्यटनलाई प्रोत्साहन गरिनेछ। ग्रामीण जीवनशैली र संस्कृतिलाई पर्यापर्यटनसँग जोड्दै गाउँगाउँमा स्वरोजगारका अवसरहरू सिर्जना गर्न होमस्टे (सङ्घीय तथा स्थानीय साझेदारीमा) कार्यक्रमलाई थप प्रभावकारी बनाइने सरकारको योजना छ ।